अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

४२ औँ बीपी स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै

news

 

साउन ६,  प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी आज ४२औँ स्मृति दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको २०३९ साल साउन ६ गते निधन भएको थियो ।

कोइरालाको जन्म १९७१ साल भदौ २४ गते भएको हो । उहाँ २०१५ सालको संसदीय चुनावपछि २०१६ साल जेठमा नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभएको हो । उहाँले नेपाली साहित्यका क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पुर्‍याउनुभएको छ ।

नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । उहाँका 'तीन घुम्ती', 'मोदी आइन', 'हिटलर र यहुदी', 'सुम्निमा', 'नरेन्द्रदाइ', एवम् 'बाबु आमा र छोरा' गरी छ उपन्यास प्रकाशित भएका छन् । त्यसैगरी दुई कथा सङ्ग्रह 'श्वेत भैरवी' र 'दोषी चश्म', हरिप्रसाद शर्माको सम्पादनमा 'विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता', प्रकाशित छ ।

वरिष्ठ अधिवक्ता स्वर्गीय गणेशराज शर्मासँगको वार्तामा आधारित 'आत्मवृत्तान्त', सुन्दरीजल बन्दीगृहमा बस्दाको दैनिकीमा आधारित 'जेल जर्नल', २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिई स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै सुन्दरीजल बन्दीगृहमा लगिएपछि लेखिएको दैनिकी 'फेरि सुन्दरीजल'ले नेपालको तत्कालीन राजनीतिक अवस्थाको यथार्थ चित्रण गरेको छ ।

जीवनको लामो समयसम्म कांग्रेसको नेतृत्व गरी २०१५ सालको आमचुनावमा पार्टीले दुई तिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नुभएका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गर्नुभयो । प्रधानमन्त्रीत्वकालमा उहाँले बिर्ता उन्मूलन र 'जग्गा जोत्नेको हुनुपर्छ' भन्ने भूमिसुधार कार्यक्रम अगाडि बढाउनुभयो ।   

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...