समाचार
वालिङका मगर महिलाहरुको लागी नेतृत्व तथा उद्दघोषण तालिम
वालिङ, ८ साउन ।
वालिङमा मगर महिलाहरुका लागी नेतृत्व तथा व्यक्तित्व विकास तालिम सम्पन्न भएको छ । मगर सामाजिक एकता हाम्रो पहिचान सामाजिक रुपान्तरणमा हाम्रो अभियान भन्ने नाराका साथ नेपाल मगर संघ इकाई समिति तल्लो वालिङको आयोजना र फ्युजन नेपाल अध्ययन अनुसन्धान तथा तालिम केन्द्र वालिङको सहयोगमा गत बुधबारदेखि संचालित १४ घण्टे तालिम मंगलबार सम्पन्न भएको हो ।
तालिम समापन समारोहमा समाजसेवी गगनसिंह थापाले तालिमको सही रुपमा व्यवहारमा कार्यान्वयन गर्न सहभागिलाई आग्रह गर्नुभयो । मगर समुदाय एकजुट भई मगर महिलाहरुलाई शसक्त र जागरुक बनाउनुपर्नेमा जोड दिँदै सिकाई कार्यान्वयमा ल्याएको खण्डमा त्यसले सार्थकता प्राप्त गर्ने थापाले बताउनुभयो । कार्यक्रममा मगर समुदायको महिलाहरुमा नेतृत्व तथा व्यक्तित्व विकास गरी थप शसक्त बनाउन यो तालिम संचालन गरिएको सहयोगी संस्थाका डाइरेक्टर तथा प्रशिक्षक उमेश दर्लामीले बताउनुभयो ।
केन्द्रले विगत १५ वर्षदेखि विभिन्न खालका तालिमहरु संचालन गर्दै आएको भन्दै अहिले मगर समुदायका महिलाहरुलाई सहि तरिकाले आफ्ना विषयवस्तुलाई प्रस्तुत गर्न तथा समय सापेक्ष आँफूलाई अगाडि बढाउन र औपचारिक कार्यक्रम संचालन तथा उद्दघोषण तालिम प्रदान गरिएको प्रशिक्षक दर्लामीले बताउनुभयो । कार्यक्रममा सहभागि निशा थापा, लक्ष्मी थापा, दुर्गाबहादुर राना, टेकबहादुर थापालगायतले आफ्ना अनुभव सुनाउँदै तालिम निकै फलदायी बनेको बताउनुभयो । कार्यक्रम नेपाल मगर संघ ईकाइ समिति तल्लो वालिङका अध्यक्ष बालकुमारी थापाको अध्यक्षतमा सम्पन्न भएको थियो भने स्वागत नितु राना र संचालन बेतमाया थापाले गर्नुभएको थियो ।
तालिममा आत्म सचेतना, कार्यक्रम संचालन तथा बोल्ने कला, महिला शसक्तिकरण, सामाजिक सचेतना, नेतृत्व विकास, स्मार्ट परिवारको गुणस्तरलगायतका विषयमा डाईरेक्टर उमेश दर्लामी, रेडियो आँधीखोलाका समाचार प्रमुख कला राना र सुरज थापाले सहजीकरण गर्नुभएको तालिममा २० जनाको सहभागिता रहेको थियो ।