समाचार
चापाकोटमा हाट बजार सञ्चालन हुने
वालिङ, ९ भाद्र ।
स्याङ्जाको चापाकोट नगरपालिकामा हाट बजार सञ्चालन हुने भएको छ । कृषकले उत्पादन गरेको कृषि जन्य वस्तुहरुलाई बिक्री नहुने समस्यालाई अन्त्य गर्न हाट बजार सञ्चालन गर्न लागिएको वडा नं ९ का अध्यक्ष कृष्ण सुवेदीले बताउनुभयो । पहिलो चरणमा वडा नम्बर ९ को आसपासका क्षेत्रलाई लक्षित गरेर हाट बजार सञ्चालन गर्ने तयारी गरिरहेको अध्यक्ष सुवेदीले भनाई छ ।
हाट बजारलाई के कसरी सुव्यवस्थित रुपमा सञ्चालन गर्न सकिन्छ भनेर राय सुझाव माग गरेको भन्दै अध्यक्ष सुवेदीले भन्नुभयो, “हामीले पनि आफ्नो तर्फबाट आन्तरिक तयारी गरिरहेका छौँ । अब हामीले छिट्टै हाट बजार सञ्चालन गर्छौँ ।” कृषकहरुले बेच्नुपर्ने र किन्नुपर्ने सर सामानहरु (जस्तै धान, मकै, गहुँ, कोदो, गाई, भैसी, बाख्रा, बंगुर, कुखुरा, हाँस, माछा, तरकारी, फलफुल, गेडागुडी, तेलहन आदि) आफूसँग जे छ वडा कार्यालयमा टिपाउन अनुरोध गरिसकेका अध्यक्ष सुवेदीको भनाई छ ।
चापाकोट नगरपालिकाको ९ स्थित गंगालाल माध्यामिक विद्यालय, बगैँचामा हाट बजार सञ्चालन गर्नको लागि गत आवमा वडाको बजेटबाट ट्रष्ट निर्मांण भइसकेको छ ।