अहिले तरंगमा

केहि छिनमा

समाचार

मौसम प्रतिकुलताका कारण स्याङ्जामा पाकेको धान खेतमै झर्न थाल्यो

 
वालिङ, ५ कार्तिक ।
बर्षाले स्याङ्जाका विभिन्न ठाउँमा किसानहरुले लगाएको धान बिग्रेको छ । बेमौसममा लगातार पानी परेकाले वर्षभरि दुःख गरेर फलाएको धान किसानहरुले घर भित्राउन नपाउदाँ उनीहरुलाई दिनको भोक न रातको निद्रा भएको छ । कुन दिन घाम लाग्छ र धान राम्रोसँग भित्राउन पाइन्छ भन्दाभन्दै खेतमा धान पाकेर झर्न थालिसकेको र चिन्ता निकैं बढेको पुतलीबजारका सुकबहादुर नेपालीले बताउनुभयो । 
 
रातभरी आएको पानीले सुकेको धान पुरै भिजेको बताउदै नेपालीले काटेको बाली थन्क्याउन नपाउदाँ निद्रा पनि नलागेको गुनासो गर्नुभयो । धान काटिसकेका किसानहरुका खेतमा पानीको ताल परेर धान डुबेको छ भने काटिसकेको धानका निहिन पानीमा डुबेका छन् । स्याङ्जाको पोखरा साईडमा विगत एक हप्तादेखि लगातार जसो पानी परेर किसानहरुको धान खेतमै कुहिएको हो भने परालसमेत काम नलाग्ने अवस्थामा पुगिसकेको छ । 
 
यस पटक प्रायजसो हाइब्रिड जातका धान लगाइएकाले धान कात्तिक नलाग्दै पाकेको र पानीको चपेटामा परेको किसान रामेश्वर लामिछाने बताउनुभयो । धान राम्रो फलेको बताउदै लामिछानेले तीन दिन पहिला  काटेको धान सबै भिजेको र बिग्रिएको बताउनुभयो ।  मौसम अनुकूल भएको भए यतिबेलासम्म धेरैजसो पहाडी फाँट र टारीहरुको धान करिब थन्किने भएपनि मौसममा भएको अस्वाभाविक प्रतिकूलताका कारण किसानको मिहिनेतको फल खेतमै खेर जाने अवस्था आएको हो । 
 
घाम नलाग्ने छाँट देखेपछि कतिपय किसानहरुले धान पाकेर खेतमा झर्नुभन्दा पानीमै भिजाएर भए पनि धान ठटाएर लैजान थालेका छन् ।स्याङ्जाको पुतलीबजार, फेदीखोला, आँधीखोला, अर्जुनचौपारी, भीरकोट लगायत पालिकाका विभिन्न फाँट तथा टारी खेतमा लगाइएको धान पाकेर पहेंलपुर भएपनि किसानले थन्काउन नपाएका हुन् । 
 
यस आर्थिक बर्षमा पर्याप्त वर्षाका कारण यहाँ ९९ प्रतिशत धान रोपाइँ भएको कृषि ज्ञान केन्द्रका प्रमुख बिनोद हमालले बताउनुभयो । गल्याङ र चापाकोटमा सिँचाईमा पहिरोका कारण केहि समय ढिला भएपनि रोपाइँ धेरै भएको हो । यहाँ १४ हजार आठ सय हेक्टरमा वर्षे र २ हजार हेक्टर क्षेत्रफलमा हिउँदे गरी १६ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदै आएको छ ।  
 
स्याङ्जाको आँधीखोला किनार, कालीगण्डकी नदी किनार, ज्याग्दीखोला किनार, चापाकोट टार, रत्नपुर, कुवाकोट , गल्याङ, सेतीदोभान फाँटहरु र बिरुवा फाँटहरु धान खेतीका उर्वर क्षेत्र हुन भने यहाँ तराईंका फाँटमा झैं धान उत्पादन हुने गरेको छ । यस्तै, दहथुम, स्वरेक, खिलुङ, पुतलीबजार नगरपालिका, वालिङ नगरपालिका, चापाकोट, रत्नपुर, मल्यांकोट, चिन्नेवास, सेतीदोभान, बिरुवा, बिर्घा, अर्जुनचौपारी, राङभाङ, तुलसीभन्ज्याङ, जगतभन्ज्याङ पनि धान उत्पादन हुने प्रमुख क्षेत्रहरु हुन ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...