समाचार
वालिङका व्यापारी व्यवसायीलाई सेयर कारोबार सम्बन्धी प्रशिक्षण
रेडियो आँधीखोला
वालिङ, ८ कार्तिक ।
वालिङका उद्योगी, व्यापारी व्यवसायीलाई सेयर कारोबार सम्बन्धी प्रशिक्षण प्रदान गरिएको छ । विश्व लगानीकर्ता सप्ताह सन २०२४ अन्र्तगत विहिबार वालिङमा लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम गरिएको हो । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल धितोपत्र बोर्डको साझेदारी तथा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको समन्वय र वालिङ उद्योग वाणिज्य संघको सहाकार्यमा कार्यक्रम गरिएको हो । कार्यक्रममा वालिङ उद्योग वाणिज्य संघका सल्लाहकार तथा निर्वतमान नगरप्रमुख दिलिपप्रताप खांणले सेयर बजारमा प्राथामिक बजार र दोस्रो बजारमा सेयर कारोबार हुने भएकाले सामान्य रुपमा आईपिओ मार्फत पनि सेयर कारोबार गर्न सकिने बताउनुभयो ।
त्यस्तै धितोपत्र बोर्डको ज्ञान राम्ररी लिएर दोस्रो बजारमा सेयर कारोबार गर्दा फाईदा र चुनौती दुवै रहेको भन्दै यस्ता खालको सचेतना कार्यक्रमले सेयरलगानी कर्ताहरुलाई थप उर्जा मिल्ने बताउनुभयो । लगानी गर्दा थप जानकार भने हुनुपर्ने भन्दै दोस्रो व्यक्तिले फाईदा लियो भन्दैमा कुनै जानकारी बिन बेयर बजारमा प्रवेश गर्दा घाटा समेत बेहोर्नुपर्ने भन्दै सचेत हुनुपर्ने संघका सल्लाहकार खांणले बताउनुभयो । कार्यक्रममा वालिङ उद्योग वाणिज्य संघसंगको सहकार्यमा सेयर बजारको बारेमा जानकारी दिन पाउँदा खुसी लागेको भन्दै कार्यक्रमको विषयमा नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक तेजप्रसाद देवकोटाले प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा मियो सेक्युरिटिजका कार्यकारी प्रमुख सुमन मल्लले स्टक मार्केट,, सेयरबजार प्रवेश, नेप्सेलगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो भने नेपाल धितोपत्र बोर्ड निर्देशक रञ्जना थकलभट्टले लगानीको निर्णय गर्दा ध्यान दिनुपर्ने कुराहरु, धितोपत्र, प्राथामिक बजार, धितोपत्रको दोस्रो बजार मुल्यमा प्रभाव पार्ने तत्व, विवेकशील लगानीकर्ता कसरी हुने, सेयरधनीको हकअधिकार, धितोपत्र सम्बन्धी कसुरलगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले व्यापारीहरुले पनि सेयरकारोबार गरी थप आर्जन गर्न सक्ने भएकाले सेयरकारोबारी तथा नयाँ सेयर बजार प्रवेश गर्न चाहानेका लागी यो सचेतना कार्यक्रम गरिएको बताउनुभयो । कार्यक्रम संघका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन संघका महासचिव रमेश अर्यालले गर्नुभएको थियो । कार्यक्रममा व्यापारी, व्यवसायी, बैंक तथा वित्तिय संस्थाका प्रमुख तथा प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।