समाचार
वालिङ ११ डौँवामा ८४ वर्ष पुगेका २८ जेष्ठ नागरिक सम्मानित
रेडियो आँधीखोला
वालिङ, १० कार्तिक ।
वालिङ ११ डौँवामा जेष्ठ नागरिक सम्मान गरिएको छ । मातापिता प्रतिष्ठान वालिङ र वालिङ नगरपालिका वडा नं. ११ को संयुक्त आयोजनामा शनिबार वडा कार्यालय डौँवामा ८४ वर्ष माथिका जेष्ठ नागरिक सम्मान गरिएको हो । कार्यक्रममा १०६ वर्षकी उत्तरकुमारी खांणलाई प्रमुख अतिथि बनाईएको थियो ।
जेष्ठ नागरिक सम्मानका लागी स्थापित प्रतिष्ठानले वालिङमा जेष्ठ नागरिक र बालबालिकाका लागी पार्क, गुरुकुल स्थापना गर्ने उद्देश्यका साथ अगाडि बढेको भन्दै वडा वडामा रहनुभएका जेष्ठ नागरिक सम्मान वडा कार्यालयको सहयोगमा गर्दै आईएको मातापिता प्रतिष्ठानका अध्यक्ष श्यामप्रसाद ढुंगानाले बताउनुभयो । कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार यमकान्त खनालले मातापिता प्रतिको सम्मान कर्तव्य भाव सन्तानमा जागृत गराउनका लागी यस्ता कार्यक्रमले थप टेवा पुग्ने बताउनुभयो ।
पछिल्लो समय युवाजति विदेशिरहेका बेला घर कुराुवको रुपमा वृद्धबुवाआमा रहँदै आउनुभएको भन्दै बृद्धअवस्थामा सन्तान साथमा रहेर मातापिताको सम्मान गर्ने संस्कारको विकास गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा १०६ वर्षकी उत्तरकुमारी खांणसहित ८४ नाघेका वृद्धबृद्धाहरु २८ जनालाई सम्मानपत्र नगद र रामनामी दोसल्लाले सम्मान गरिएको हो । वडा नं. ११ मा ८४ वर्ष नाघेका ५५ जना बृद्धबृद्धाहरु रहनुभएको भन्दै बाँकी रहनुभएकाहरुलाई वडाको सहजीकरणमा घरमै गएर सम्मान गरिने प्रतिष्ठानका अध्यक्ष ढुंगानाले बताउनुभयो ।
वडा सदस्य आनन्द खांणको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन प्रतिष्ठानका अध्यक्ष ढुंगाना र स्वागत वरिष्ठ उपाध्यक्ष प्रदिप बगालेले गर्नुभएको थियो । जेष्ठ नागरिक सम्मानले सम्मानित बुवाआमाहरुले खुसी व्यक्त गर्नुभएको छ ।