अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

आज काग तिहार मनाइँदै

news

 

कात्तिक १४, काठमाण्डौ – कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठा–मीठा खानेकुरा दिएर मनाइँदैछ ।

बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले आज यो पर्व मनाउन लागिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

कागलाई सन्देशवाहकका रुपमा लिइन्छ । यस अवसरमा काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका–१ कागेश्वरी महादेव मन्दिरमा विशेष पूजा हुने गर्छ । त्यसैगरी हनुमानढोकाको कागेश्वरी मन्दिरमा पनि कागको पूजा गरिन्छ ।

यस्तै यम दीपदान गर्नेक्रम पनि आज बेलुकादेखि नै सुरु गरिँदैछ । यस वर्ष तिथिको घटबढका कारण यमपञ्चक हिजो बेलुकादेखि शुरु भएको हो । तिथिको घटबढका कारण पर्सि बिहीवार कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको समितिले जनाएको छ । बिहीवार अरुणोदयकालमा स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाइन्छ । बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने समितिका अध्यक्ष अधिकारीले बताउनुभयो ।

बिहीवार दिउँसो तीन बजेर १४ मिनेटसम्म चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले लक्ष्मीपूजा पनि त्यसै दिन गर्नुपरेको समितिले जनाएको छ । गाईगोरुपूजा कात्तिक १७ गते शनिवार परेको छ । गोवर्द्धन पूजा र आत्म (म्ह) पूजा पनि त्यसैदिन परेको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष नेपाल संवत् ११४५ पनि शुरू हुनेछ ।

कात्तिक १८ गते आइतवार यसवर्षको भाइटीका मनाइँदैछ । बिहान ११ बजेर ३७ मिनेटमा भाइटीकाको शुभसाइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । तर बेलुकी सूर्यास्त नभएसम्म भाइटीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ । किजापूजा पनि कात्तिक १८ गते नै गरिन्छ । तिहारको अवसरमा किनमेल, तयारी र अन्य काम शुरू भइसकेका छन् । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...