समाचार
वालिङमा गोर्वद्धन तथा गौपूजा
रेडियो आँधीखोला,
वालिङ, १८ कार्तिक ।
स्याङ्जाको वालिङमा सामुहिकरुपमा गौपूजा गरिएको छ । वालिङ ८ को काफलडाँडामा रहेको धुनि शिवालय गौशालामा आज सामुहिकरुपमा गोवद्र्धन एवम् गौपूजा गरिएको हो । पण्डित नेत्रप्रसाद पराजुलीसहित वालिङ क्षेत्रका समाजसेवी एवम् सर्वसाधारणले धुनि शिवालय गौशालामा सामुहिक गौपूजा गरेका हुन् ।
गौपूजा गर्दै पण्डित नेत्रप्रसाद पराजुलीले गाई विश्वकै माता भएको भन्दै गाईलाई सधैं सेवा गर्नुपर्ने बताउनुभयो । गौशालाका संरक्षकसमेत रहनुभएका पराजुलीले तिहारको समयमा मात्रै गाई पूजा नगरेर ३ सय ६५ दिन नै गाईको सेवा गर्नुपर्ने भन्दै मानव सभ्यतासँग जोडिएकोे गाईको विषेश महत्व रहेको बताउनुभयो ।
पण्डित पराजुलीले भन्नुभयो,“गोप्रदत्त पदार्थहरु भनेका अमृत हुन्, गाईबाट जे जे पदार्थहरु बनाउन सक्दछौं ती सबै अमृत समान भएर्को छ । हाम्रो मानव जीवन सम्पूर्ण चराचर जगतसँग जोडिएको छ । संसारभर पञ्च प्रकृतिमा रहेका विकराल र वीषजन्य वस्तुहरुलाई शोषण गरेर अमृत प्रदान गर्ने गौकोरुपमा मानव सभ्यतासँगै र मानवीय कल्याणका लागि गौ पूजन जरुरी छ ।”
उहाँले मानिसहरु तत्काल प्रतिफलात्मक रहनु र गाईप्रतिको चासो तथा महत्वको ज्ञान कमि हुनु जस्ता कारण पछिल्लो समय गौपालन घट्दो क्रममा रहेको उल्लेख गर्नुभयो ।
केही दिन अगाडि भ्रमणका विषयमा दुवई पुगेको र त्यहाँ रहेका नेपाली दाजुभाईहरुले गौसेवाका लागि अभियानकासाथ लागेको पण्डित पराजुलीले बताउनुभयो । नेपाली दाजुभाईहरुले कार्यक्रम नै गरेर यो शिवालय धुनि गौशाला आश्रमलाई रु.३१ हजार नगद सहयोग प्रदान गरेको र सो रकम आज गौपूजाको अवसरमा गौशाला सञ्चालन समितिका अध्यक्ष कमलप्रसाद सुवेदीलाई हस्तान्तरण गरिएको छ । यसैगरी अरु कुनै पनि बेला सहयोग गर्नेगरी सनातनी गौसेवा युएईको टीम लागेको समेत पराजुलीले जानकारी गराउनुभयो ।
पहिलादेखि नै शुक्ष्मरुपमा गौशाला चलिरहेको भएपनि शिवालय धुनी गुठी गौशाला आश्रम २०७५ सालदेखि विस्तार भएको हो । यहाँ डेढसयको हाराहारीमा गाईहरु छन् । स्थानीय सरकार वालिङ नगरपालिकाले १२ लाख रुपैयाँ लगानी गरेर गोठ निर्माण गरिएको हो । २०७९ मा सञ्चालन गरिएको महायज्ञबाट ८१ लाखको अक्षयकोष स्थापना भएको छ । त्यसबाट आएको व्याजबाट गाईको पालनपोषणको काम गरिएको छ । योसँगै गोप्रेमी भक्तहरुको साथ सहयोगबाट गौशाला सञ्चालन भैरहेको छ ।
पण्डित पराजुलीका अनुसार दुई तलाको गोठ निर्माण गर्ने भावी योजना छ । जसको तल्लो तलामा १ सय गाई बाँध्न मिलोस र माथिल्लो तलामा बरान तथा चोकरहरु राख्न सकियोस् । यसका लागि प्रदेश सरकारसँग सहयोगको लागी अनुरोध गर्ने तयारीमा गरिएको छ । यसैगरी गौमुत्र प्रशोधनको कार्यक्रम रहेको छ । योसँगै धुनि शिवालय मन्दिर व्यवस्थापन गरिने योजना छ ।
यहाँ रहेको शिवालय धुनि ४ सय वर्ष अघिदेखि जलिरहेको छ, यसकोबारेमा संसारभर बुझाउनुपर्छ भन्ने र मन्दिरलाई व्यवस्थापन गर्ने र पुरानोरुपलाई नमेटाइकन नयाँरुप दिने प्रकृयामा अगाडि बढेको पण्डित पराजुलीले बताउनुभयो । यसको घेराबार, मूलगेट निर्माण तथा सुविधायुक्त बाटोका लागि करिब एक करोडको बजेटमा काम गर्ने गरी प्रदेश सरकार समक्ष जाने योजना बनाइएको पण्डित पराजुलीले जानकारी गराउनुभयो ।