समाचार
वनसम्बन्धी अन्र्तक्रिया तथा छलफल वालिङमा सम्पन्न
वालिङ, २५ कार्तिक ।
वालिङमा सामुदायिक वन सम्बन्धी अन्र्तक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता महासंघ स्याङ्जाको आयोजनामा जनप्रतिनिधि र सामुदायिक वन उपभोक्ता वालिङबीच सामुदायिक वनको क्षेत्र, ऐन, नियमलगायतका विषयमा अन्र्तक्रिया गरिएको हो ।
कार्यक्रममा नगरप्रमुख कृष्ण खांणले वनजंगल जोगाउनुपर्नेमा जोड दिँदै नागरिकहरुको समस्यासंग पुग्नका लागी पनि सामुदायिक वनले भुमिका खेल्ने बताउनुभयो । नेपाल प्राकृतिक स्रोतले भरिपुर्ण देश भएकाले यहाँका वन जंगलबाट यहाँको आर्थिक, सामाजिक र राजनितिक पक्षलाई समेत प्रभावकारी रुपमा अगाडि बढाउन सहयोग गर्ने प्रमुख खांणको भनाई छ । विकास निर्माणका काममा वन ऐनले केहि अवरोध गरेको भन्दै जटिल ऐनलाई संसोधन गरेर भए पनि विकास निर्माणले गति लिनुपर्ने प्रमुख खांणको भनाई थियो । नगरपालिका वन महासंघको साथमा रहेको भन्दै उपभोक्ताहरुको हितमा काम गर्न नगरपालिकाले महासंघसंग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा सामुदायिक वन महासंघका केन्द्रिय सदस्य केदार काफ्लेले सामुदियक वन सुसुप्त अवस्थामा रहेको भन्दै यो अवस्थामा नगरपालिकाले अपनत्व लिएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । नगरपालिकाले स्थानीय तहमा साखा स्थापना गरेर रेन्जर राखेर काम गनुपर्नेमा उहाँको जोड थियो । कार्यक्रममा सामुदायिक वन महासंघ केन्द्रिय सदस्य दोबबहादुर कार्कीले वन ऐन कानुनका विषयमा हिँजो र आज मुलुक संघियतामा गएपछि संघिय ऐन, प्रदेश ऐनसग नबाझिने गरी नगरले एने बनाउन पाउने र राजपत्रमा प्रकाशित गराई अधिकार प्रयोग गर्न पाउने बताउनुभयो ।
कार्यक्रममा कार्यक्रमको बारेमा प्रष्ट पार्दै सामुदायिक वन महासंघ स्याङ्जाका अध्यक्ष तारा शर्माले ८७ वटा वनहरु महासंघमा आवद्ध रहेको बताउनुभयो । सामुदायिक वनमा रहेका उपभोक्ताहरुलाई सहज बनाउँदै विकास निर्माणमा पनि प्रत्यक्ष सहभागिता बनाउन आवश्यक रहेको बताउनुभयो । सामुदायिक वन महासंघलाई पनि स्थानीय तहले सुचिकृत गर्दै अगाडि बनाउन आवश्यक रहेको बताउनुभयो । महासंघ स्याङ्जाका अध्यक्ष शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सामुदायिक वन महासंघ वालिङका अध्यक्ष कमल गैह्रेले गर्नुभएको थियो भने स्वागत महासंघ स्याङ्जाका उपाध्यक्ष दिपेन्द्र गैह्रेले गर्नुभएको थियो ।