समाचार
रुद्राक्षबाट मालासंगै शिवलिंग र मुकुट निर्माण गरी निशुल्क दिँदै वालिङका कंडेल
रेडियो आँधीखोला
वालिङ, १८ मंसिर ।
वालिङ ८ कंडेलगाउँका देविप्रसाद कंडेलको घरको दोस्रो तलामा रहेको एक कोठा पुरै रुद्राक्षले भरिएका छन् । रुद्राक्षबाट माला, शिवलिंग, मुकुट निर्माण गर्ने उहाँको दैनिकि हो । उहाँले निर्माण गर्नुभएका रुद्राक्षका माला, शिवलिंग, मुकुट विभिन्न तिर्थस्थलहरुमा पुगिसकेका छन् । जेटिए हुँदै जेटिको समेत काम गरेर अवकाश प्राप्त कंडेलले त्यसयताको समय रुद्राक्षमै समर्पित गर्नुभएको छ । उमेरले ६७ लाग्नुभएका कंडेलले रुद्राक्षका दाना संकलन गरेर घरमा ल्याउने, बोक्रा छोडाउने, धुँने, सुकाउने, रुद्राक्षमा प्लाहरु बनाउने तामाको तारमा उन्ने र विभिन्न आकारका माला, शिवलिंग, र मुकुट निर्माणमा तल्लिन हुँने उहाँको दैनिकि जस्तै छ ।
२०७१ सालमा जागिरबाट अवकाश लिनुभएका कंडेलले २०५४ सालबाट नै रुद्राक्षका मालाहरु बनाउन थाल्नुभएको हो । कंडेलले भन्नुभयो, “म सानै हुँदा पनि रुद्राक्षका दानाहरु संकलन गर्ने, साधुसन्तहरुलाई दिने गर्थेँ ।” विभिन्न तिर्थस्थलहरुमा जाँदा रुद्राक्षबाट मालासंगै शिवलिंग र मुकुट पनि बनाउन सकिन्छ भन्ने भाव उहाँमा जाग्यो र यो कार्यमा लाग्नुभएको हो । यो कार्यमा उहाँको ज्वाँईले समेत सल्लाह दिएपछि कंडेललाई अझै सहज भयो ।
उहाँले पुर्वदेखि पश्चिमसम्म रुद्राक्षका बिरुवाहरु र मालाहरु समेत वितरण गरिसक्नुभएको छ । विभिन्न तिर्थस्थलहरुमा दिगो संरक्षण हुने गरी योजनासहित आएको खण्डमा शिवलिंगहरु निशुल्क रुपमा वितरण गर्नुभएको छ । उहाँले निर्माण गर्नुभएका १०८ दशिवलिंग मोक्षधाममा राखिएको छ भने १०८ शिवलिंग चितवनको गैँडाकोट कुलमन्दिरमा राख्नका लागी निर्माण गरिरहनुभएको छ । पहिला पहिला जस्तो माला, शिवलिंगहरुको माग कम रहेको उहाँले बताउनुभयो ।
अहिले धेरै स्थानहरुमा रुद्राक्षका बिरुवाहरुको विस्तार भएकाले पनि माग कम भएको उहाँको बुझाई छ । भगवान शिवप्रति समर्पित हुँदै अबको बाँकी जिवन पनि रुद्राक्षका मालाहरु नै बनाउने उहाँको सोँच छ । रुद्राक्षको माला ५४, १०८ को बनाइन्छ भने शिवलिंग झण्डै ३०४ सम्मका दानाहरुबाट बनाइन्छ भने मुकुट ५०४ सम्मका दानाहरुबाट बनाइन्छ । रुद्राक्षबाट बनेका यी सामानहरु विक्रि गरेर पैसा लिने कंडेलको कुनै इच्छा छैन् । भगवानको नाममा उहाँले यो काम गर्नुभएको कंडेल बताउनुहुन्छ ।
रुद्राक्ष, जसले मानसिक शान्ति कायम राख्नुका साथै, हृदय रोग, नसा रोगमा फाइदा भएकाले यसको आफ्नै आयुर्वेदिक महत्व छ । रुद्राक्षले शरीरमा हुने विद्युतीय तथा चुम्बकीय क्षेत्रको सन्तुलन गराउँने र शरीरमा रगतको सञ्चार राम्ररी हुन पाउँछ भन्ने वैज्ञानिक महत्व रहेकाले रुद्राक्ष बाहिरी नकारात्मक विकीरणको प्रभाव रोकेर शरीरलाई रक्षा गर्ने काम गर्छ भन्ने मान्यता छ ।