समाचार
स्याङ्जामा राष्ट्रिय स्तरको साहित्यिक पुरस्कारको स्थापना
वालिङ, २३, मंसिर ।
स्याङ्जामा राष्ट्रिय स्तरको साहित्यिक पुरस्कारको लागी पुरस्कार कोष स्थापना गरिएको छ । स्याङ्जाली साहित्यकार स्वर्गीय नारायणप्रसाद ज्ञवालीको स्मृतिमा उहाँको परिवारले २५ हजार ५ सय २५ रूपैयाँको साहित्यिक पुरस्कार वितरण गर्ने उद्देश्यले पुरस्कार कोषकोे स्थापना गरेको हो । ज्ञवालीका परिवारले अहिलेलाई २ लाखको पुरस्कार कोषको स्थापना गरेको छ भने अर्को वर्ष १ लाख थप गर्दै ५ लाखको कोष हुने परिवारले जनाएका छन् । उक्त पुरस्कार कोषबाट वार्शिक रुपमा साहित्यकालाई सम्मान गरिने भएको हो ।। स्व. ज्ञवालीको स्मृति दिवसको सन्दर्भ पारेर राष्ट्रियस्तरका साहित्यकारहरुमध्ये एक जनालाई नगद राशि रु. २५ हजार ५ सय २५ रूपैयाँ सहित दोसल्ला र सम्मानपत्रद्वारा सम्मानित गर्नेगरि नारायणप्रसाद ज्ञवाली स्मृति राष्ट्रिय प्रतिभा पुरस्कार कोष– २०८१ को स्थापना गरिएको साहित्यकार मिलन समिरले जानकारी दिनुभयो।
नारायणप्रसाद ज्ञवाली स्मृति राष्ट्रिय प्रतिभा पुरस्कार कोष, गल्याङ नगरपालिका– ११, दिमिक, कुमाल्दी, स्याङ्जाको आयोजनामा गल्याङ– ११ स्थित स्वर्गीय नारायणप्रसाद ज्ञवालीको निवासमा कोषको पहिलो साहित्यिक कार्यक्रमको रूपमा साहित्यकार स्वर्गीय नारायणप्रसाद ज्ञावलीद्वारा लेखिएको नियात्रा संग्रह ” ती दिनहरू” को लोकार्पण समेत गरिएको छ । नियात्रा संग्रह “ती दिनहरू ” को सम्पादन साहित्यकार मिलन समिरले गर्नुभएको हो।
उक्त पुरस्कार २०८२ सालको नारायणप्रसाद ज्ञवालीको दोस्रो वार्षिक पुण्य तिथि अर्थात उहाँको स्मृति दिवसको अवसरमा प्रदान गरिने भएको छ । समारोहमा स्व. ज्ञवालीको व्यक्तित्वको बारेमा उहाँका सहकर्मी अग्रज कवि चण्डिकाप्रसाद भट्टराईले चर्चा गर्नुभएको थियो भने लोकार्पण गरिएको कृतिको सन्दर्भमा केन्द्रित रहेर युवा स्रष्टा सागर काफ्लेले समीक्षात्मक टिप्पणी प्रस्तुत गर्नुभएको थियोे ।