समाचार
गल्याङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ सम्पन्न
वालिङ, २९ मंसिर ।
स्याङ्जाको गल्याङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ सम्पन्न भएको छ । गल्याङ नगरपालिकाको आयोजनामा तल्लो गल्याङ खेल मैदानमा शनिबार प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगिताको समापन कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख गुरुप्रसाद भट्टराईले नगरको विकासका लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो । उहाँले मञ्चहरुमा भाषण गर्नुभन्दा पनि विकासका लागि परिणाम आउने खालका कार्यक्रम हुनुपर्नेमा जोड दिनुभयो । नगरप्रमुख भट्टराईले छोटो तयारीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गर्नका लागि सबै पक्षको सहयोग भएको भन्दै आभार व्यक्त गर्नुभयो । शैक्षिक विकासका लागि यस खालका कार्यक्रमको रचनात्मक भूमिका हुने भन्दै उहाँले शिक्षामा लगानी गर्न नगरपालिका तयार रहेको बताउनुभयो ।
कार्यक्रममा सामुदायिक विद्यालय महासंघका केन्द्रीय सदस्य तथा भुपु सैनिक बोर्डिङ स्कुलका प्रिन्सीपल राजेन्द्रदेब खनालले शैक्षिक सुधारका लागि नगरपालिकाले ल्याएका योजनामा सबैले साथ दिनुपर्ने बताउनुभयो ।
प्रतियोगितामा गल्याङ नगरपालिका १ मालुङ्गामा रहेको सार्बजनिक माध्यमिक विद्यालय प्रथम भएको छ ।
विभिन्न विधामा ३२ पदकका लागि भएको प्रतियोगिता सार्बजनिक माध्यमिक विद्यालयले १० स्वर्ण ८ रजत र ४ कास्य पदक सहित प्रथम भएको छ । प्रतियोगितामा दोस्रो भएको गल्याङ नगरपालिका ११ जिमुहामा रहेको गल्कोट माध्यमिक विद्यालयले आठ स्वर्ण पदक पाएको छ ।
यस्तै, गल्याङ नगरपालिका तीन गल्याङबजारमा रहेको श्री भानुभक्त माध्यमिक विद्यालयले तेस्रो हुँदै ४ स्वर्ण ४ रजत र ३ कास्य पदक जितेको छ । प्रतियोगितामा सान्त्वना भएको चिराग आवासीय माध्यमिक विद्यालयले ३ स्वर्ण, तीन रजत र तीन कास्य पदक पाएको छ ।
नगरपालिका भित्रका संस्थागत तथा सामुदायिक गरी २२ वटा विद्यालयहरुको सहभागिता रहेको प्रतियोगितामा छ वटा विद्यालय पदक विहीन भएका छन् ।
बिहिबार सुरु भएको प्रतियोगितामा छात्र तथा छात्रा भलिबल प्रतियोगिता, विभिन्न तौल समूहको मार्सल आटर््स, एक सय, दुई सय र चार सय, आठ सय र १५ सय मिटर दौड, रिले दौड, हाइजम्प, लङ जम्प, सटफुट, मार्चपास लगायतका खेलहरु समाबेश गरिएको थियो ।