समाचार
कालिका मावि झापाकोटको ३३ औं वार्षिकोत्सव सम्पन्न
वालिङ, २ पुस ।
स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं १३ झापाकोटस्थित कालिका माध्यामिक विद्यालयको ३३ औं वार्षिक उत्सव सम्पन्न भएको छ । वार्शिकोत्सवको उद्दघाटन गर्दै संघीय सांसद् राजु थापाले अबको बहस राजनीतिमा नभई शिक्षा र शिक्षा क्षेत्रबाट उत्पादित जनशक्तिको विश्व व्यापीकरणमा हुनुपर्नेमा जोड दिनुभयो । देशको विकास, समाजको परिवर्तन शिक्षाबाट मात्र संभव छ भन्दै उनले अबका विद्यालयमा राष्ट्रियता पढाएर देशलाई माया गर्ने जनशक्ति उत्पादन गर्नुपर्ने कुरा व्यक्त गर्नुभयो ।
विकास र निर्माण निरन्तर हुने प्रकृया भएकाले शिक्षालाई नै अब जोड दिएर अघि बढ्नुपर्ने बताउँदै राज्यले समेत शिक्षा क्षेत्रमा बजेट बढाएर काम गर्नुपर्ने सांसद थापाको जोड छ। कार्यक्रममा गण्डकी प्रदेश सांसद् सुधिर कुमार पौडेलले शिक्षा क्षेत्रमा शिक्षक विद्यार्थी अभिभावक एकजुट भएमात्र संभावनालाई साकार पार्न सकिने बताउँदै शिक्षाबाटै सभ्य समाजको चित्रण हुने बताउनुभयो । कार्यक्रममा पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले नगरपालिकाले शिक्षा क्षेत्रमा सुधार ल्याउन नगरपालिकाले समेत आन्तरिक रुपमा २ करोड रकमभन्दा बढी विनियोजन गरेको बताउनुभयो ।
कार्यक्रममा पुतलीबजार १३ का वडाध्यक्ष जुद्ध घर्ती, क्याम्पसहरुको तर्फबार्ट स्याङ्जा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख तथा स्याङ्जा उमाविका संस्थापक प्राचार्य भरत लम्साल, विद्यालय व्यवस्थापन समितिका तर्फबाट पूर्वअध्यक्ष दोबबहादुर कार्की, पूर्वविद्यार्थी मञ्चको तर्फबाट बोधराज गौतम, शिक्षक अभिभावक संघ कालिका माविका पूर्वअध्यक्ष डिल्लीराम कोइराला, शिक्षकको तर्फबाट नारायणप्रसाद पौडेल, विद्यार्थीको तर्फबाट स्वीकृति रेग्मीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अध्यक्ष मिनप्रसाद कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक सूर्यबहादुर जिसी र स्वागत मन्तव्य शिक्षक अभिभावक संघका अध्यक्ष कृष्णप्रसाद रिजालले गर्नुभएको थियो । वार्षिकोत्सव कार्यक्रममा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण समेत गरिएको थियो ।