समाचार
५ महिनादेखि अवरुद्ध सिँचाई कुलो श्रमदानबाटै सञ्चालनमा आयो
रेडियो आँधीखोला
वालिङ, १० पौष ।
५ महिनादेखि अवरुद्ध सिँचाई कुलो श्रमदानबाट सञ्चालनमा आएको छ । स्याङ्जाको भीरकोट नगरपालिका वडा नं ५ स्थित पकान फाँटमा श्रमदानबाट कुलो सफाई गरी सञ्चालनमा ल्याईएको हो । गत श्रावणमा गएको भीषण बाढीबाट पुरिएको चालिसे खण्डको कुलो श्रमदानमार्फत सरसफाई गरि बुधबारदेखि सञ्चालनमा आएको हो । कुलोमा बाढी पस्दा सिँचाई प्रभावित भएको थियो । प्रभावित क्षेत्रका किसानहरूको सक्रियतामा माटो ढुङ्गा खन्ने, निकाल्ने कार्य गरी अहिले सिँचाई हुने व्यवस्था मिलाईएको शिक्षक तथा प्रभावित कृषक कृष्णप्रसाद पौडेलले बताउनुभयो ।
धान तथा आलुको पकेट क्षेत्र मानिएको पकाँन फाँटमा लुब्दी खोलाको पानीले सिँचित गर्दै आईएको छ भने अन्य पानीका स्रोतबाट पनि सिँचाइ गरिँदै आईएको छ । धान र आलु खेतिको लागी उर्बर मानिएको पकान फाँटमा बर्खामा आएको बाढीका कारण पुरिएको थियो । स्थानीय कृषक तथा शिक्षक पौडेलले भन्नुभयो, “बर्खाको बाढीले धान खेति पुरै ढुबानमा परेका थिए । बाँकी बचेका धान खेति आकाशे पानीको भरमा भित्र्याउन पाईयो । अहिलेसम्म पनि कहिँ कतैबाट कुलो सफाईका लागी सहयोग नपाएपछि श्रमदानबाट नै कुलो सरसफाई गरि सञ्चालनमा ल्याईएको छ । पकान फाँट आलुको पकेट क्षेत्र पनि हो ।”
साउनदेखि अवरुद्ध रहेको कुलो सञ्चालनमा ल्याउनका लागी प्रभावित ५१ घरपरिवारका कृषकहरु एकजुट भई श्रमदान गरेका थिए । उक्त सिँचाई कुलोबाट ३५० रोपनी सिँचित हुँदै आएको छ । ३७५ मिटर कुलो सफाई गरिएको कृषक पौडेलले बताउनुभयो । धानमा क्षति बेहोरेका कृषकहरु हिँउदे बाली गहुुँ, आलु, तोरी राम्रै भित्र्याउने अपेक्षामा छन् । कुलोमा पानी ल्याउन सफल भएपछि अबका खेतिहरु राम्रो हुने कृषक गोपी अर्यालको अपेक्षा छ । धानबालीलाई बाढीले क्षति गरेपनि अहिलेसम्म कहिँकतैबाट क्षतिपुर्ति नपाईएको भन्दै अब हिउँदे बाली उत्पादन राम्रो हुने अर्यालले बताउनुभयो ।