समाचार
तमु ल्होसारको अवसरमा विरामीहरुलाई फलफुल वितरण
रेडियो आँधीखोला
वालिङ, १४ पौष ।
तमु समाज सेवा समिति वालिङले तमु ल्होसारको अवसरमा विरामीहरुलाई फलफुल वितरण गरेको छ । समाजले शनिबारदेखि तमु ल्होसार मनाउन शुरु गरेको हो । ल्होसारको अवसरमा शनिबार तमु भेषभुषा तथा झाँकी सहित वालिङ नगर परिक्रमा गरेको थियो । मंगलबार १६ गतेसम्म समाजले विविध कार्यक्रम गरी तमु ल्होसार मनाउँदैछन् ।
आईतबार वालिङ अस्पताल, ग्रहौँ प्राथामिक अस्पताल र वालिङ सामुदायिक डायलाईसिस केन्द्रका ३२ जना विरामीहरुलाई फलफुल वितरण गरिएको हो । फलफुल वितरण कार्यक्रममा समाजका अध्यक्ष धनबहादुर गुरुङलगायत समाजका पदाधिकारी तथा सदस्यहरुको सहभागिता थियो । त्यस्तै आईतबार महिलाहरुका लागी म्युजिकल चियर, युवाहरुका लागी फुटबल प्रतियोगिता, भेट्रान्स भलिबल प्रतियोगिता र बालबालिकाहरुका लागी चम्चा दौडलगायतका खेल प्रतियोगिता समेत सम्पन्न भएका छन् । त्यस्तै तिहारमा देउसीभैलो खेल्ने क्रममा बाबा समूह र आमा समूहबाट सक्रिय एक एक जनालाई सम्मान गरिँदैछ ।
यो वर्ष गुरुङ समुदायले गिद्ध वर्गको विदाई गरि सर्प वर्गलाई स्वागत गरि मनाउँदैछन् । गुरुङ समुदायले नयाँ बर्षको रुपमा पुस पन्ध्रलाई भव्यताका साथ मनाउँदै आएका छन् । ल्होसार भनेको नयाँ वर्ष हो । गुरूङ समुदायलाई जनाउने अर्को नाम तमु हो । तमु ल्होसारले गुरूङ समुदायको भित्तेपात्रोमा नयाँ सम्वत शुरू भएको सङ्केत गर्दछ । प्राचीन तमु प्यो शास्त्रको अनुसार तमु ल्होसारको दिन तमुहरूका प्रथम महापुरुषको उत्पत्ती भएको मानिन्छ ।
भोली पुस १५ गते शुभकामना आदानप्रदान, सुभ भोज ग्रहण, साङगितिक कार्यक्रम, सम्मान एवं खेलकुदमा विजेता तथा उपविजेताहरुलाई पुरस्कार वितरण, रोधी कार्यक्रम गर्दै पुस १६ गते सांस्कृतिक कार्यक्रम सहित ल्होसार समापन गरिने तमु सेवा समाज वालिङका महासचिव इश्वर गुरुङ बताउनुभयो । ल्होसार पर्वमा ढोग–भेट, आशीष आदानप्रदान गर्दै नाता कुटुम्बलाई बोलाएर भोज खुवाएर एकआपसमा शुभकामना साटासाट गरि मनाईन्छ । ल्होसारको दिन गुरूङ जातिहरू आफ्नै मौलिक भेषभुषामा सजिएर धुमधामका साथ मनाउँछन् ।