समाचार
तमु ल्होसारमा जेष्ठ नागरिक सम्मानीत
रेडियो आँधीखोला
वालिङ, १६ पौष ।
तमु ल्होसार तथा पुस १५ को अवसरमा भीरकोट वडा नं ३ स्थित रयाले ज्येष्ठ नागरिक सम्मान एवं शुभकामना आदान प्रदान गरिएको छ । रयाले बाबा समूह, चौतारी युवा क्लब, तीनधारा बाराही आमा समूहको संयुक्त आयोजनामा ८० वर्ष नाघेका १३ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो । भीरकोट वडा नं ३ को रयाले मण्डली थानमा भएको कार्यक्रममा सम्मानित जेष्ठ नागरिकलाई दोसल्लाले सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्नुहुँदै भीरकोट नगरपालिका वडा नं ३ का वडा अध्यक्ष केशर बहादुर खड्काले ज्येष्ठ नागरिक समाजका गहना, पथ प्रदर्शक र संस्कृतीका जननी भएकाले देवता सरह पूज्य हुने हुँदा यो उदाहरणिय कार्य गर्नु भएकोमा आभार व्यक्त गनुभयो । साथै उहाँले हामी सयौं फुलको थुङ्गा भएपनि एउटै माला भई एक हुँदै हाम्रो परम्पराको संरक्षण मा अघि बढ्नु पर्नेमा जोड दिनुभयो । आज भोली संस्कारका नाममा विकृती फैलिदै गएकाले यसको न्यूनिकरणमा सबै मिलेर सामना गर्नु पर्नेमा उहाँको जोड थियो ।
यस्तै कार्यक्रममा जुद्ध बहादुर गुरुङ्ग, प्रेम आले, गंगाराम काफ्ले, गौं बहादुर गुरुङ्ग, रेन बहादुर गुरुङ्गले आफ्नो शुभकामन मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम रीम बहादुर गुरुङ्ग को सभापतित्वमा सम्पन्न भएको थियो भने इमान सिङ्ग गुरुङ्गले सञ्चालन र स्वागत उद्ध बहादुर गुरुङ्गले गर्नुभएको थियो ।