समाचार
आँधीखोला सञ्चार सहकारी संस्थाको १९औँ साधारण सभा सम्पन्न
रेडियो आँधीखोला
वालिङ, २७ पौष ।
आँधीखोला सञ्चार सहकारी संस्था लिमिटेड वालिङ ८ को १९औँ साधारण सभा सम्पन्न भएको छ । संस्थाद्धारा सञ्चालित रेडियो आँधीखोला एफएम १०५.४ मेगाहर्जको सभाहलमा १९औँ साधारण सभा सम्पन्न भएको हो । साधारण सभालाई सम्बोधन गर्दै गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति भोजराज अर्यालले पछिल्लो समय आम मानिसहरुमा बढ्दै गएको नकरात्मक सोँचाईलाई त्यागेर अगाडि बढ्नुपर्ने भन्दै लोकतन्त्रको आगमन भन्दा पहिला र पछिको विकासका गति हेर्नुपर्नेमा जोड दिनुभयो ।
विकास नै भएन भनेर निराश हुने, नकरात्म अफवाह फैलाउने कार्य बन्द गर्नुपर्ने बताउँदै हरेक गाउँगाउँमा सडक, खानेपानीलगायतका आधारभुत अवश्यकताहरु पुरा भएको स्मरण गर्दै यी सबै लोकतन्त्रको उपज भएको उहाँको भनाई थियो ।
कार्यक्रममा गण्डकी प्रदेश सांसद कल्पना तिवारीले २०६२÷०६३ को जनआन्दोलनपछि नागरिकहरुलाई सूसुचित गराउने उद्देश्यका साथ स्थापना भएको रेडियोले अनवरत रुपमा आँफूलाई अब्बल सावित गर्दै आएको बताउनुभयो । पछिल्लो समय बढ्दो प्रविधिका बेला रेडियोलाई थप शसक्त रुपमा अगाडि लैजानु चुनौतीसंगै अवसर पनि भएको भन्दै रेडियोको थप विकासका लागी आफ्नोतर्फबाट गर्ने सहयोग हरदम रहेको बताउनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेशका पुर्व सांसद मोहन रेग्मी, रेडियोका निर्वतमान अध्यक्ष नेत्रप्रसाद पाण्डे, नेकपा एमालेका नगर अध्यक्ष शोभाकान्त पौडेल, रेडियोका संस्थापक अध्यक्ष रेशमलाल कोईराला, उपकार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा रेडियोका पुर्व सचिव यमकान्त खनाल, नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष प्रदिप कोईराला, वालिङ साना किसान सहकारी संस्था लिमिटेडका अध्यक्ष तथा पुर्व कर्मचारी सिता पाण्डेलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा उत्कृष्ट विज्ञापनदाता छायाँक्षेत्र फार्मेसी र ओम मेसिनरी, उत्कृष्ट स्रोता मित्रलाल केसी र फालचन्द्र कोईराला, उत्कृष्ट कर्मचारी लेखापाल सुमन सुवेदी र प्राविधिक अनिशा राना सम्मानित हुनुभएको छ । कार्यक्रममा अध्यक्ष शान्ता थापाले रेडियोको वार्शिक प्रतिवेदन तथा भावी योजना तथा रणनिति समेटिएको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
त्यस्तै सचिव हिमलाल पराजुली, कोषाध्यक्ष बिमल अर्याल र लेखा संयोजक तोयनारायण रेग्मीले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । २०६३ साल साउन २७ गते रेशमलाल कोईरालाको अध्यक्षतामा १३ सदस्यीय तर्दथ समिति गठन गरि स्याङ्जामै पहिलो रेडियोको रुपमा ध्वनि तरंगित गरेको रेडियोलाई अगाडि बढाउन सम्पुर्ण लाग्नुपर्नेमा वक्ताहरुको जोड थियो । कार्यक्रम अध्यक्ष थापाको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत उपाध्यक्ष ताराप्रसाद श्रेष्ठ र संचालन सचिव पराजुलीले गर्नुभएको थियो ।