समाचार
ज्ञानोदय मा वि को स्वर्ण जयन्ती महोत्सव सुरु
वालिङ, १ माघ ।
स्याङ्जाको गल्याङ नगरपालिका ९ मा रहेको ज्ञानोदय माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव सुरु भएको छ ।विद्यालयले स्थापना भएको ५० वर्ष पुरा भएको उपलक्ष्यमा तीन दिनसम्म मनाइने स्वर्ण महोत्सव मंगलबार सुरु भएको हो ।स्वर्ण महोत्सवको उद्घाटन कार्यक्रममा प्रदेश सांसद महेश भट्टराईले व्यवहारिक शिक्षाका लागि नीतिगत सुधार गर्नुपर्ने बताउनुभयो । उहाँले शिक्षामा नीतिगत सुधारका लागि आफुले प्रदेश संसदमा पहल गर्ने पनि बताउनुभयो ।
सांसद भट्टराईले बैज्ञानिक र व्यवहारिक शिक्षा नहुँदा उत्तिर्ण भएका विद्यार्थीमा पनि अन्यौल हुने गरेको बताउनुभयो ।उहाँले ज्ञानोदय विद्यालयले स्थापनाकाल देखि विभिन्न आरोह अबरोह पार गर्दै आएको भन्दै अहिले भौतिक अवस्था राम्रो भए पनि अब शिक्षामा सुधार गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख गुरुप्रसाद भट्टराईले शिक्षामा सुधारका लागि नगरपालिकाले विभिन्न कार्यक्रम ल्याइरहेको बताउनुभयो ।उहाँले शिक्षामा परिवर्तन नल्याउँदासम्म अन्य विकास गरेर मात्रै नहुने बताउनुभयो ।नगर उपप्रमुख हेमा न्यौपाने तिमिल्सीनाले विद्यालयको शैक्षिक विकास गरी नमूना विद्यालय बनाउनका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्वता जनाउनुभयो ।
गल्याङ नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष नामदेब खनाल, विद्यालयका संस्थापक प्रधानाध्यापक हरिहर पाण्डेलगायतले बोल्नुभएको थियो । स्वर्ण महोत्सवको पहिलो दिन विद्यालयका संस्थापक तथा विद्यालय व्यवस्थापन समितिका पूर्व पदाधीकारीहरुलाई सम्मान गरिएको छ । यस्तै, विद्यालयमा निर्मित चार कोठे भवनको उद्घाटन पनि गरिएको छ ।
कार्यक्रममा राष्ट्रिय कलाकारहरु यज्ञ सापकोटा र सुनिता नेपालीले सांगितिक प्रस्तुति राख्नुभएको छ ।
स्वर्ण महोत्सवको दोश्रो दिन बुधबार नगरस्तरीय हाजिरीजवाफ प्रतियोगिता तथा अर्को भवनको उद्घाटन पनि हुनेछ । बुधबार विक्रम परियार र बुद्धिसागर बस्यालको प्रस्तुति रहने विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद भण्डारीले जानकारी दिनुभयो ।