समाचार
नेपाल मगर संघ वालिङद्धारा माघि पर्व घेटघाट तथा शुभकामना आदानप्रदान
रेडियो आँधीखोला
वालिङ, १ माघ ।
नेपाल मगर संघ वालिङ नगर समितिको आयोजनामा मंगलबार माघे सक्रान्ति तथा माघि पर्व घेटघाटका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ । कार्यक्रममा नेपाल मगर संघ केन्द्रिय निर्वाचन आयोगका सदस्य तेजबहादुर आलेले सांस्कृतिक संरक्षण तथा संर्वद्धनका लागी युवा सहभागिता आवश्यक रहेकोमा जोड दिनुभयो । मगर समुदायको आफ्नै भाषा, लिपि, संस्कार र संस्कृति रहेको भन्दै यसलाई जिवन्त राख्नका लागी पुस्तान्तरण संगै युवा सहभागितालाई जोड दिनुपर्ने उहाँको भनाई थियो ।
साथै गण्डकी प्रदेश सरकारले मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा प्राथामिकता दिने मस्यौदा माथि छलफल र सुझावका लागी माघ १५ गतेसम्म सम्पर्क गर्न आग्रह गर्दै यो खुसीको कुरा भएको बताउनुभयो । सरकारी कामकाजमा आफ्नो मातृ भाषालाई प्रयोग गर्दा भाषाको संरक्षण तथा पुस्तान्तरण हुने उहाँको भनाई थियो । कार्यक्रममा नेपाल मगर संघ केन्द्रिय सदस्य खगिसरा थापाले मगर समुदायले नयाँ वर्षको रुपमा मनाउने माघिको आफ्नै मौलिक परम्परा र संस्कृति रहेको भन्दै यस्ता मौलिक परम्परा चाडपर्वको महत्वका विषयमा नयाँ पिडिलाई पनि जानकारी गराउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल मगर महिला संघ केन्द्रिय सदस्य रुपा आले, नेपाल मगर संघ जिल्ला उपाध्यक्ष कृष्ण थापा, नेपाल मगर संघ जिल्ला सदस्य सिता थापा, नेपाल मगर महिला संघ जिल्ला समन्वय समितिका उपाध्यक्ष खिमा थापा, नेपाल मगर महिला संघ जिल्ला समन्वय समिति सदस्य सुमित्रा थापालगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम नेपाल मगर संघ नगर अध्यक्ष क्या. विश्वप्रकाश थापाको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत वरिष्ठ उपाध्यक्ष क्या. खिमबहादुर थापा, संचालन सचिव सुवेदार कुलबहादुर थापा र धन्यवाद उपाध्यक्ष टुका रानाले गर्नुभएको थियो । कार्यक्रममा मगर समुदायको खाना, मगर समुदायको सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो भने सहभागि मगर भेषभुषामा सजिएर सौहार्दपुर्ण रुपमा कार्यक्रम गरिएको सहसचिव टक आलेले जानकारी दिनुभयो ।