समाचार
भूमि समस्या समाधान आयोग स्याङ्जाको अध्यक्षमा तारा शर्मा
वालिङ, ६ माघ ।
भूमि समस्या समाधान आयोग स्याङ्जाको अध्यक्षमा तारा शर्मा नियुक्त हुनुभएको छ । शर्मासंगै भूमि सम्बन्धि समस्या समाधानका लागि स्याङ्जाले पहिलो पटक महिला नेतृत्व पाएको हो । पुतलीबजार नगरपालिका १४ निवासी शर्मालाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले जिल्ला अध्यक्षको नियुक्ति गर्नुभएको हो । शर्माले अध्यक्षको शपथ लिइसक्नु भएको छ । अध्यक्ष शर्मा नेकपा एमाले स्याङ्जाको राजनीतिमा लामो समयदेखि अनवरतरुपमा क्रियाशिल हुनुहुन्छ । राजनीतिसंगै बिभिन्न संघसंस्थामा आवद्ध उहाँ हाल जिल्ला बन उपभोक्ता महासंघ (फेकोफन) स्याङ्जाका अध्यक्ष पनि हुनुहुन्छ ।
अब छिटै स्याङ्जा आयोगले पूर्णता पाउने उहाँले जानकारी दिनुभयो । एक बिज्ञ सदस्य सहित चार सदस्यीय राजनीतिक नियुक्त हुने आयोगमा प्रशासन, मालपोत, नापी, डिभिजन बन कार्यालय सहितको समिति जिल्लामा बन्ने र सदस्य सचिवका रुपमा नापी कार्यालय प्रमुखलाई जिम्मेवारी दिइएको नवनियुक्त अध्यक्ष शर्माले जानकारी दिनुभयो । आयोगले जिल्लामा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि काम गर्नुपर्नेछ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले तीन वर्षभित्र भूमि समस्या स्थायीरूपमा समाधान गर्नेगरि काम गर्न निर्देशन दिइसक्नु भएको छ ।