समाचार
गल्याङमा पहिलोपटक होलिस्टेन गाईको लागि उन्नत नस्लका बिज प्राप्त
वालिङ, १० माघ ।
कोरियन सरकारबाट नेपाल सरकारलाई उपहार स्वरुप दिईएको बिज हेफर प्रोजेक्ट मार्फत गल्याङ नगरपालिकाले प्राप्त गरेको हो । विहीबार गल्याङ नगरपालिकाको कार्यालयमा होलिस्टन गाइका लागि बिज हस्तान्तरण कार्यक्रममा हेफर प्रोजेक्ट प्रतिनिधिले गल्याङ नगरपालिका प्रमुख गुरुप्रसाद भट्टराईलाई बिज हस्तान्तर गर्नुभएको छ ।
गल्याङ नगरपालिका भित्र गाई पालिरहेका कृषकहरुलाई होलिस्टेन गाइको लागि उन्नत बिज हस्तान्तरण गरिएको हो । गाईको नस्ल सुधार गरि दुधको उत्पादनमा वृद्धि गर्ने उद्देश्य सहित गल्याङ नगरपालिका प्रमुख गुरुप्रसाद भट्टराईको विशेष पहलमा पहिलोपटक गल्याङमा उन्नत जातको बिज भित्रिएको हो । बिज हस्तान्तरण कार्यक्रममा गल्याङ नगरप्रमुख भट्टराईले नगरपालिकाभित्र दुधको उत्पादन वृद्वि गराउन यसले फाइदा पुग्ने बताउनुभयो । उहाँले नगर भित्रका कृषकहरुको जीवनस्तर उकास्नका निम्ती यी र यस्ता कार्यक्रमहरु प्रभावकारी हुने बताउनुभयो । नगरप्रमुख भट्टराईले उन्नत नश्लको बिज प्रदान गरेकोमा हेफर प्रोजक्टलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
उहाँले नगरपालिकाको पशुशाखा मार्फत गल्याङमा बिज निःशुल्क लगाइने जानकारी पनि दिनुभयो । कार्यक्रममा हेफर नेपालका कार्यक्रम अधिकृत डाक्टर विवेक घिमिरेले बिजलाई होलिस्टन गाइमा मात्रै प्रयोग गर्नुपर्ने लगायतका विषयमा जानकारी गराउनुभयो । हेफर नेपालका अर्का कार्यक्रम अधिकृत शोभाखर न्यौपानेले हेफर कार्यक्रम मार्फत किसानको जिवनस्तर उठाउन विभिन्न कार्यक्रमहरु भैरहेको जानकारी दिनुभयो । गल्याङ कृषि तथा पशु उधमशिलता विकास परियोजना अन्तर्गत हेफर प्रोजेक्ट नेपाल मार्फत गल्याङ नगरपालिकालाई उन्नत नस्लको होलिस्टेन गाईको लागि बिज हस्तान्तरण गरिएको हो ।