समाचार
फोनिज स्याङ्जाको अध्यक्षमा पुनः गुरुङ
वालिङ, १३ माघ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज स्याङ्जाको अध्यक्षमा पुनः तिलक गुरुङ निर्वाचित हुनुभएको छ । आईतबार सम्पन्न फोनिज स्याङ्जाको दोस्रो अधिवेसनले गुरुङको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको हो । त्यस्तै उपाध्यक्षमा संगिता थापा, सचिवमा धनु गुरुङ, कोषाध्यक्षमा अनिशा राना रहनुभएको छ भने सदस्यहरुमा ओम गुरुङ, याम सोमइँ, रिमा गुरुङ, रुपा खाम्चा र तुजन गाहा रहनुभएको छ । त्यस्तै केन्द्रिय प्रतिनिधिमा मोहन गुरुङ, प्रदेश प्रतिनिधिमा कला राना र गोपाल जिटि रहनुभएको छ ।
अधिवेसनको उद्दघाटनका अवसरमा वालिङ नगरपालिका वडा नं. १ का अध्यक्ष तथा नगरप्रवक्ता पदमराज गुरुङले पत्रकारिता सत्यतथ्य तथा विश्वासिलो हुनुपर्ने बताउँदै पछिल्लो समय बढ्दै गएको प्रविधिको युगमा पत्रकारहरुले आँफूलाई अपग्रेड गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । विषेशगरी जनजाति समुदाय एवं सिंगो मुलुकको परिप्रेक्षमा पछिल्लो समय प्लस टु पढेपछि विदेश नै जानुपर्ने टे«न बढिरहेका बेला पत्रकारिता पेशालाई पनि व्यवसायिक रुपमा अगाडि बढाएर समाज तथा देशको हरेक विकृति र विसंतिको विपक्षमा पत्रकार उभिनुपर्ने बताउनुभयो । हरेक क्षेत्रमा खटेर लाग्ने हो भने जिविकोपार्जनका लागी गाह्रो नभएको भन्दै मुख्य विषय लगाव र मेहेनत रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा फोनिज गण्डकी प्रदेशका महासचिव सुमन गुरुङले फोनिजलाई पनि पत्रकार महासंघले समन्वय गरेर अगाडि बढाउन आग्रह गर्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष प्रदिप कोईरालाले फोनिजसंग हातेमालो गर्दै पत्रकारिताको हकहितमा महासंघ प्रतिवद्ध रहेको बताउनुभयो ।