समाचार
नेपाल रेडक्रस सोसाइटी स्याङ्जाको सभापतिमा अर्याल
वालिङ, १९ माघ ।
नेपाल रेडक्रस सोसाइटी स्याङ्जाको सभापतिमा दिनेश अर्याल सर्वसम्मत निर्वाचित हुनुभएको छ । शुक्रबार स्याङ्जामा भएको ४० औ अधिवेशनले दोस्रो पटक अर्यालको नेतृत्वमा १७ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध चयन गरेको निर्वाचन अधिकारी रामदत्त पौडेलले बताउनुभयो ।
सोही अधिवेशनबाट महिला उपसभापति लक्ष्मी थापा, उपसभापति लक्ष्मी कान्त रेग्मी, मन्त्री रामचन्द्र अर्याल, कोषाध्यक्ष महेश बहादुर थापा, उपमन्त्री राजेन्द्रदेव खनाल, उप कोषाध्यक्ष अर्जुन कुमार पौडेल, महिला सदस्य विष्णु सुवेदी—गैह्रे र नर्मदा अर्याल निर्वाचित हुनुभएको छ । यस्तै सदस्यमा चुडामणि रेग्मी, विष्णु प्रताप खाँण, रोशन लामिछाने, रमेश रेग्मी,थम नारायण ढकाल, कमल बहादुर खड्का र विश्वेश्वर गिरी निर्वाचित हुनुभएको हो ।
शनिवार सपथ ग्रहण कार्यक्रममा बोल्दै नवनिर्वाचित सभापति दिनेश अर्यालले सोसाइटीले सामाजिक काममा अग्रणी भूमिका निर्वाह गरेको उल्लेख गर्नुभयो । डायलाइसिस सेन्टरमा रगतको माग बढेपछि जिल्ला रेडक्रसको पहलमा जिल्लाको २ वटा स्थानमा बल्ड बैँक स्थापना गरिएको अर्यालको भनाई छ ।
“वालिङ र स्याङ्जामा बल्ड बैंक स्थापना भएसँगै सेवाग्राहीले रगतको समस्या भोग्नुपरेको छैन ”, नवनिर्वाचित अर्यालले भन्नुभयो, “यो कार्यकाल बल्ड बैंकको नियमित संचालनार्थ एक करोड आर्थिक संकलन अभियान शुरुवात गर्ने घोषणा गरिएको छ ।”
आर्थिक संकलन कार्यक्रम आजैबाट सुरु भएको नवनिर्वाचित कोषाध्यक्ष महेश बहादुर थापाले बताउनुभयो । उहांका अनुसार अक्षयकोष स्थापना गर्न एक करोड अभियान संकलन गर्ने निर्णय भएकै दिन कोषमा ५० हजार संकलन भएको छ । रुकमणी रेग्मी र तारा प्रसाद रेग्मीले कोषमा सहयोगार्थ २५∕२५ हजार सहयोग गर्नुभयो । सहयोगी दातालाई जिल्ला रेडक्रस सोसाइटीले विशिष्ट सदस्यको प्रमाण पत्र प्रदान गर्नेछ ।