समाचार
स्याङ्जामा अपाङ्गता भएका व्यक्तिलाई तरकारी खेती तालिम र औजार वितरण
वालिङ, २७ माघ ।
स्याङ्जामा अपाङ्गता भएका व्यक्तिलाई तरकारी खेती तालिम र औजार वितरण कार्यक्रमम सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय स्याङ्जाको आर्थिक सहयोग, कृषि ज्ञान केन्द्र स्याङ्जाको प्राविधिक सहयोग तथा स्याङ्जा अपाङ्ग समाजको आयोजनामा अपाङ्गता भएका व्यक्तिहरुलाई समुदायमा आधारित पुनस्र्थापना कार्यक्रम अन्तर्गत बेमौसमी तरकारी खेतीसम्बन्धी दुई दिने तालिम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै पुतलीबजार नगरपालिका उपप्रमुख देवी अर्यालले अपाङ्गता भएका व्यक्तिहरुको लागि यस्ता सिप मूलक कार्यक्रम गर्दै विभिन्न क्षेत्रको क्षमता विकासमा समेत ध्यान दिनु पर्ने कुरामा जोड दिनु भयो ।
सामाजिक विकास कार्यालयका प्रमुख जीवन पौडेलले कृषि प्रधान देशमा अपाङ्गता भएका व्यक्तिहरुको लागि जिविकोपार्जनको लागि यस किसिमको कार्यक्रम अनुकरणीय रहेको र सिकेको सिपलाई जीवन उपयोगी बनाउँदै कृषिको विविधिकरण,व्यवसायिकरण र आधुनिकरणमा सबैले हातेमालो गरेर अगाडी बढ्नु पर्ने कुरा बताउनु भयो ।
कार्यक्रममा कृषि ज्ञान केन्द्रका बागबानी विकास अधिकृत विकास बि.क., प्राविधिक सहायक विनिता शर्मा र कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्रशिक्षार्थी विद्यार्थीहरुले तरकारी खेतीसँग सम्बन्धित विविध क्षेत्रमा सहजिकरण गर्नु भएको थियो । कार्यक्रममा अपाङ्गता सशक्तिकरण तथा सामुदायिक विकास केन्द्र नेपालका अध्यक्ष युवराज पराजुलीले आफ्ना भनाई राख्नुभएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रका २३ जना अपाङ्गता भएका व्यक्तिहरुलाई तालिम समापन पश्चात् कृषिऔजार, बीउ र आवश्यक अन्य सामाग्री वितरण गरिएको थियो । अपाङ्ग समाज स्याङ्जाका अध्यक्ष राम शर्मा पोखरेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।