समाचार
शिक्षक संघ भीरकोट को छैटौं प्रतिनिधि सभा तथा सम्मान कार्यक्रम सम्पन्न
वालिङ, २७ माघ ।
“गुणस्तरीय शिक्षाको आधार,मर्यादित पेसाको पूर्वाधार भन्ने मूल नारा सहित भीरकोट शिक्षक संघको छैटौं प्रतिनिधि सभा तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा गण्डकी प्रदेश निवर्तमान शिक्षा तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले समग्र देशको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न सक्षम,दक्ष तथा प्रतिभावान व्यक्तिलाई शिक्षक सेवाको क्षेत्रमा समाबेश गर्न आबस्यक नीतिको प्रबन्ध गरिनु आबस्यक रहेको र सो कार्यका लागि आफूले सदैव प्रयत्न गरिरहने बताउनु भयो ।
शिक्षक सेवामा प्रवेश गर्नुभएका नव आगन्तुक १५ जना शिक्षक, सेवाकालीन अवस्थामा रहनु भएका ५ जना शिक्षक र सेवा निवृत्त हुनुभएका २ जना शिक्षकहरूलाई सम्मान गरिएको उक्त कार्यक्रममा शिक्षक संघ स्याङ्जा जिल्ला अध्यक्ष पशुपति पौडेल, नेपाली कांग्रेस भीरकोट सभापति यामप्रसाद अधिकारी, भीरकोट ७ का वडा अध्यक्ष तारा अर्याल, शिक्षक संघ स्याङ्जा जिल्ला सचिव युवराज ढकाल, संघीय प्रतिनिधि शेषकान्त खनाल, सहसचिव युवराज कट्टेल, प्रअ युनियन भीरकोट अध्यक्ष देबकी रेग्मी, ट्रेड यूनियन भीरकोट अध्यक्ष राजेन्द्र कुमार खाँड, शिक्षक संघ प्रदेश प्रतिनिधि सुनिता उच्चै लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा सहभागीहरु बीच अन्तक्र्रिया कार्यक्रम पनि राखिएको थियो। अन्तक्र्रियामा सहभागी शिक्षकहरुले शिक्षक पेसालाई समाजको तल्लो स्तरको पेसाका रुपमा रहने गरी राज्यबाट विभिन्न तवरले विभेद गरिएको, बीसौं वर्ष सम्म पनि एउटै तह र श्रेणीमा काम गर्नु परेको, तहगत बढुवाको प्रबन्ध नगरिएको, पारिश्रमिक प्राप्त गर्न ३–४ महिना व्यतीत गर्नु परेको लगायतका गुनासा गरेका थिए ।
शिक्षक संघ भीरकोटका अध्यक्ष चोलाकान्त काफ्लेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन तथा उठेका विषयवस्तुको अभिलेखीकरण सचिव कृष्ण प्रसाद पौडेलले गर्नु भएको थियो ।