समाचार
जीउने जुक्ति सिकाउन खोर निर्माण एवम् पाठापाठी वितरण
वालिङ, २९ माघ ।
स्याङ्जाको वालिङ नगरपालिकाले जीउने जुक्ति सिकाउन खोर निर्माण एवम् बाख्राका पाठापाठी वितरणलाई अगाडि बढाएको छ । आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम अन्तरगत “भोकालाई एक छाक भोजन होईन, जीउने जुक्ति सिकाऔँ” भन्ने मूल नारासहित महिलाहरुका लागि अनुदानमा बङ्गुर तथा बाख्राका लागि खोर निर्माण एवम् बीउ पाठापाठी वितरण कार्यक्रमलाई अगाडि बढाइएको हो ।
वालिङ नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा सञ्चालन भईरहेको वालिङ कृषि विकास परियोजना अन्तरगत ५० प्रतिशत अनुदानमा बीउका रुपमा पाठापाठी वितरण गरिएको हो ।
परियोजना अन्तर्गत आर्थिक वर्ष २०८१÷०८२ मा नगरपालिकाका वडा नम्वर ५ मा ४ र ७ मा २१ वटा बङ्गुरका खोर निर्माण भैसकेका छन् । यसैगरी वडा नम्वर ४ मा ५, ५ मा ८ र ६ मा १३ गरी २६ वटा बाख्राका खोर निर्माण कार्य सम्पन्न भएको छ । यसरी यो आर्थिक वर्ष बङ्गुर र बाख्राका गरी १ सय १६ वटा खोर निर्माण गर्ने कार्यक्रम रहेको नगरपालिकाको पशुसेवा कार्यालयले जनाएको छ । परियोजना मार्फत वडा नम्वर १ देखि ७ मा ३१ वटा उपहार समूह गठन गरी ९ सय ३० जना महिलाहरुलाई आवद्ध गराइएको छ ।
यस्तैगरी वडा नम्वर १, २ र ६ मा गरी ४ वटा व्यवसायीक युवा समूह गठन गरिएको छ । जसमा विदेशबाट फर्किएका ५० जना युवाहरु आवद्ध भएका छन् । योसँगै परियोजनाको कार्यक्षेत्र रहेको १ देखि ७ नम्वर वडामा व्यवसायीक युवा समूह बनाइने छ । यो आर्थिक वर्ष १ सय ५० बाख्राका पाठी र १६ वटा बीउ बोका वितरण गरिने छ भने बङ्गुरका ६० वटा वितरण गर्ने नगरपालिकाको कार्यक्रम रहेको छ ।
वडा नम्वर ८ देखि १४ सम्म नगरपालिकाको पशुसेवा कार्यालयले अनुदानमा खोर निर्माण एवम् पाठापाठी वितरण गरिने छ । यसका लागि सम्बन्धित वडा अध्यक्षसँगको समन्वयमा क्षेत्र निर्धारण गरिनेछ । ५० प्रतिशत अनुदानमा खोर निर्माण एवम् पाठापाठी वितरण गरिने नगरपालिकाको पशुसेवा कार्यालयका प्रमुख डा. रोशन बस्यालले जानकारी गराउनुभयो ।, डा. बस्यालका अनुसार वडा नम्वर १० को दाङ्सिङ, ११ को तितापानी, १२ को कोखे र १४ को दाङ्सेमा निश्चित भैसकेको छ भने ९ र १३ मा क्षेत्र तय हुन बाँकी छ ।
कार्यक्रम अन्तर्गत नगरपालिकाका २ र ५ गरी दुईवटा वडामा बाख्राका पाठापाठी वितरणको काम भैसकेका छन् । पाठापाठी प्राप्त गर्नेमा २ नम्वर वडाको तीलडाँडा महिला समूह र ५ का दिप्का बडहरे महिला स्वावलम्वी समूह रहेका छन् ।