समाचार
भुम्रेमा रक्तदान, ५२ जनाले रक्तदान गरे
रेडियो आँधीखोला
वालिङ, ३ फागुन ।
वालिङ ९ भुम्रेमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । होराईजन क्लब वालिङ ९ भुम्रे र भुम्रे नेवा समाजको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार केन्द्र स्याङ्जाको प्राविधिक सहयोगमा सातधारा चोक होराईजन क्लबको भवनमा कार्यक्रम गरिएको हो । रक्तदान कार्यक्रममा ५२ जनाले रक्तदान गरेका छन् । ४४ पुरुष र ८ महिला गरी ५२ जनाले रक्तदान गरेका हुन् ।
कार्यक्रममा वडा नं. ९ का अध्यक्ष शेरबहादुर श्रेष्ठ अमृत, वडा नं. १२ का अध्यक्ष विश्वजंग गुरुङ, भुम्रे नेवा समाजका संस्थापक अध्यक्ष तथा रेडियो आँधीखोलाका उपाध्यक्ष ताराप्रसाद श्रेष्ठको समेत उपस्थिति रहेको थियो । रगत अभावमा कोहि कसैले पनि मृत्युवरण गर्न नपरोस भन्ने उद्देश्यले क्लबले रक्तदान कार्यक्रमको आयोजना गरेको क्लबका अध्यक्ष शंकर श्रेष्ठले बताउनुभयो । क्लबले खेलक्षेत्रसंगै विभिन्न सामाजिक तथा रचनात्मक कार्य गर्दै आईरहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।