समाचार
वालिङ मगर दिवस धुमधामका साथ मनाइने, दुई पालिकाद्धारा सार्वजानिक विदा
रेडियो आँधीखोला
वालिङ, १० फागुन ।
नेपाल मगर संघ वालिङले मगर दिवस धुमधामका साथ मनाउने भएको छ । यहि फाल्गुन १५ गते ४३औँ मगर दिवस विभिन्न कार्यक्रम गरी मनाईने मगर संघ वालिङले जनाएको छ । दिवसको पुर्व सन्ध्यामा यही फाल्गुन १३ गते कार्यक्रमको व्यापाक प्रचारप्रसार, फाल्गुन १४ गते मैत्रिपुर्ण मोटरसाईकल ¥याली र १५ गते पैदल ¥याली, सांस्कृतिक कार्यक्रम, खेलकुद कार्यक्रम, सम्मान कार्यक्रमको आयोजना गरिएको मगर संघका अध्यक्ष क्या. विश्वप्रकाश थापाले बताउनुभयो । मगर संघले हरेक वर्षको फाल्गुन १५ मा विभिन्न कार्यक्रम गरी दिवस मनाउँदै आएको छ ।
मगर दिवसका अवसरमा जिल्लाका पुतलीबजार र भीरकोट नगरपालिकाले सार्वजानिक विदा समेत घोषणा गरिसकेका छन् । पुतलीबजार नगरपालिकाले विहिबार र भीरकोट नगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै सार्वजानिक विदाको घोषणा गरेका हुन् । भीरकोट नगरप्रमुख गोविन्दकुमार कर्माचार्यद्धारा हस्ताक्षरित सूचनामा फाल्गुन ५ गतेको कार्यपालिका बैठकको निर्णय अनुसार मगर दिवसका अवसरमा सार्वजानिक विदा दिईएको उल्लेख गरिएको छ ।
२०३९ साल फागुन १५ गते तनहुँको दमौलीमा पहिलो पटक स्थापना भएको दिनलाई मगर संघले स्थापना दिवसको रुपमा मनाउन थालेको हो । २०३९ मा मगर संघको पहिलो महाधिवेशन भए तापनि त्यस अघिदेखि नै मगरहरु विभिन्न ढंगले संगठित हुँदै आएको तथ्यांक बताइन्छ । मगरहरुको सांगठनिक रुपले गोलबन्द भएको दिनको रुपमा विश्वभरमा सांगठनिक पर्वको रुपमा मगर बस्ती बस्तीमा मनाउँदै आइरहेका छन् ।