समाचार
नवग्रह मन्दिरमा भक्तजनको घुइँचो
वालिङ, १० फागुन ।
नेपालकै पहिलो नवग्रह मन्दिरको अनुष्ठान, गिता ज्ञान महायज्ञ तथा धार्मिक महोत्सवमा भक्तजनको घुइँचो लागेको छ । अर्जुनचौपारी गाउँपालिका–१ जलबराह धार्मिक वनमा निर्माण भएको नवग्रह मन्दिरमा पाँचौ दिन एकै दिन हजारौ भक्तजनले पुजाआजा गरेका छन् ।
अनुष्ठान शुरु भएसँगै भक्तजनको घुइँचो लागे पनि आज शनिबार पुजा गर्ने बार नै परेकाले भक्तजनले लामो लाइनमै बसेर पुजाआजा गर्नु परेको हो । १४४ वर्षमा आएको महाकुम्भको समयमा महाशिवरात्रीको अवसर पारेर यहाँ प्राण प्रतिष्ठा तथा अनुष्ठान र धार्मिक महोत्सव गरिएको हो । १४ गते सम्म चल्ने नवग्रह मन्दिरको अनुष्ठान तथा धार्मिक महोत्सवमा एक करोड २५ लाख दिप प्रज्वलन, चार वेदको पाठ पारायण, गायत्री मन्त्रद्धारा सवालाख हवन, आर्मिक अन्र्तक्रिया, सन्ध्याकालिन महाआरती तथा भजनकृतन गरिदै आएको छ ।
प्राण प्रतिष्ठा तथा अनुष्ठान एवं धार्मिक महोत्सवमा आचार्य श्री चैतन्य कृष्ण महाराज गूरु प्रमुख वाचक रहनु भएको छ भने शनिबार केएन स्वामीले धार्मिक प्रवचन दिनु भएको हो । यस मन्दिरको अनुष्ठान तथा धार्मिक महोत्सवमा खुमन अधिकारी, नेपाली क्रिकेटका पुर्व क्याप्टेन सन्दिप लामिछाने लगायतले नवग्रह मन्दिरमा पुजाआजा समेत गर्नुभएको छ ।
घर तथा शक्तिपीठको एक नवग्रहको प्रतिमा राखेर पूजा गर्ने गरिएकोमा नेपालमै नवग्रह मन्दिरको दर्शन तथा पूजा अर्चना गर्न पाइने गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले बताउनुभयो । १५७ रोपनी क्षेत्रफलमा फैलिएको यस धार्मिक वनमा नवभुज आकारको आकाश तर्फ फर्केको २७ फिट अग्लो नवग्रह मन्दिर बनाइएको छ । पिलरको १४ फिटमा सुर्य, शुक्र, केतु, चन्द्र, मंगल, बुध, शनि, बृहस्पती र राहुका प्रतीक राखिएको छ भने पिलरको नौ वटा भुजामा ग्रह अनुसारका रङ लगाइएको छ । नवग्रह मन्दिरसँगै षट्कोण शिवालय बनाइएको छ भने षट्कोण शिवालयको बीचमा पशुपतिनाथको जस्तै पञ्चमुखी शिवलिङग(सात क्वीन्टलक) र कोणमा गणेश, कुलदेवता, लक्ष्मी, कालभैरव, हनुमानको मूर्ति राखिएको छ ।
यहाँ आउने हरेक भक्तजनलाई रुद्राक्षको माला लगाउने ब्यवस्था गरिएको छ भने भोकै आउनेलाई निःशुल्क खानाको ब्यवस्था गरिएको छ । पाचौ दिन सम्म तीन हजार भक्तजनले धार्मिक महोत्सवमा पुजाआजा तथा दर्शन गरेको मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष भरत पोखरेलले बताउनुभयो ।