समाचार
सामाजिक कार्यालय जस्तो नाम उस्तै काम
वालिङ, १४ फागुन ।
सामाजिक विकास कार्यालय स्याङ्जाले सामाजिक कार्यहरुमा त्रियाशिलता बढाएको छ । पछिल्लो समय कार्यालय बालबालिका, बृद्धबृद्धा, महिलाहरुको माँझ विभिन्न रचनात्मक कार्य लिएर पुग्ने गरेको छ ।
परम्परागत सिपको पुस्तान्तरण, सामाजिक तथा सांस्कृतिक पक्षहरुको संर्वद्धन तथा संरक्षण गर्दै कार्यालयले जिल्लामा आफ्नो सक्रियता थप शसक्त ढंगले अगाडि बढाएको हो । कार्यालयका प्रमुख जिवन पौडेलका अनुसार आँफूले कार्यालयमा प्रमुखको जिम्मेवारीको कार्यभार ग्रहण गरेलगत्तै सामाजिक कार्यालयले आफ्नो क्षेत्राधिकार भित्रका कार्य गर्न कुनै कसर बाँकी नराखेको बताउनुभयो ।
कार्यालयले आफ्नो बजेटलाई सृजनात्मक कार्यमा लगाउँदै आएको छ । बालबालिकाहरुबीच पञ्चेबाजा प्रतियोगितादेखि बालबालिकालाई दुना टपरी बनाउने सम्मका सिपहरु प्रदान गरेको छ । जेष्ठ नागरिकहरुको ज्ञानलाई बालबालिकामा हस्तान्तरणका लागी दुना टपरी बुन्ने, डोको बुन्ने तथा खेर गईरहेका यहीँ सजिलै उपलब्ध हुने कच्चा पदार्थबाट विभिन्न कलात्मक वस्तु उत्पादन गर्ने सिपहरुमा कार्यालयले अफ्नो बजेट खर्च गरेको छ । सामाजिक विकास कार्यालय हिंसा प्रभावितहरुको आश्रय स्थल समेत बन्दै आगामी दिनमा परम्परागत सिपमा समेत महिलाहरुलाई सहभागिता बनाउँदै जाने बताउनुभयो ।
दृष्ट्रि विहिनलाई सेतो छडि वितरण, वृद्धाश्रममा न्यानो कपडा वितरण, महिलाहरुका लागी निशुल्क लोकसेवा तयारी कक्षा, लागूऔषध विरुद्ध सचेतनामुलक कार्यक्रम, उपभोक्ताहरुलाई सचेत बनाउने कार्यक्रम, खरको छानो सहितको विश्राम गृहलगायतका काम गरेको कार्यालयका प्रमुख जिवन पौडेलले बताउनुभयो । महिलाहरुलाई उद्यमी बनाउनका लागी चप्पललगायतका उद्योग सञ्चालनका लागी १८ जनालाई सहयोग गरिएको भन्दै महिला, बालबालिका, युवा, बृद्धबृद्धा, सृमान्तकृत समुदायहरुका क्षेत्रमा कार्यालयले कार्य गर्दै आएको उहाँले बताउनुभयो ।
यस्ता कार्यक्रमले नागरिकहरु थप सशक्त बन्ने, सिपको हस्तान्तरण हुँदै बालबालिकाहरुलाई आफ्ना जिजुहरुको पालामा गरिने दैनिक जिवन कार्यलगायतका विषयमा ज्ञान प्राप्त गर्ने अवसर समेत मिल्ने कार्यालयको अपेक्षा छ । साथै कार्यालयले बृद्धाश्रम सञ्चालनका लागी समेत आर्थिक सहयोग गर्दै आएको छ । जेष्ठ नागरिकहरुको हकअधिकारलाई सुनिश्चित गर्दै उहाँहरुको सिप पुस्तान्तरणका लागी आश्रमसंग सम्झौता गरी आर्थिक सहायता गरेको कार्यालयले जनाएको छ ।