समाचार
पूर्वराजा ज्ञानेन्द्रद्वारा कुल मन्दिरमा पूजा
वालिङ, १४ फागुन ।
पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो कुल देवताको मन्दिरमा पूजापाठ गर्नुभएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकास्थित आलमदेवी मन्दिरमा शाहले मङ्गलबार पूजापाठ गर्नुका साथै प्रसाद ग्रहण गर्नुभएको हो । नेपालमा गणतन्त्र आएपछि पहिलो पटक तत्कालिन राजा शाह कुलपूजाका लागि आलमदेवी मन्दिरमा आई पुग्नु भएको उहाँको सचिवालयले जनाएको छ ।
केही दिनदेखि पोखरा बस्दै आउनु भएका शाह सोमबार साँझ स्याङ्जाको वालिङमा आउनु भएको थियो । पूर्व राजपरिवारका सदस्यहरु आफ्नो कुल मन्दिरमा नियमित पूजापाठका लागि पुग्ने गरेको कालीगण्डकी गाउँपालिका–४ का वडा अध्यक्ष यादवप्रसाद पाण्डेले जानकारी दिनुभयो । तत्कालिन राजाको स्वागतमा स्याङ्जाका विभिन्न स्थानमा समर्थकहरुको भीड लागेको थियो । पुर्व राजा शाह हिजै पोखरा प्रस्थान गर्नुभएको छ ।