समाचार
महाशिवरात्री पर्वको अवसरमा छाङ्छाङ्दीमा ६ लाख भेटि संकलन
वालिङ १४ फागुन ।
स्याङ्जाको प्रसिद्ध ऐतिहासिक मन्दिर छायाँक्षेत्र मन्दिर छाङ्छाङ्दीमा महाशिवरात्री पर्वको अवसरमा ६ लाख ७ हजार ३१ रुपैँया भेटि संकलन भएको छ । १४४ वर्षमा आउने महाकुम्भको विशेष समय समेत परेका कारण यो वर्षको महाशिवरात्रीमा उल्लेख्य भक्तजनहरुले मन्दिर दर्शन गरेका छन् । मन्दिर व्यवस्थापन समितिका सहसचिव तथा आर्थिक संकलन समितिका संयोजक शोभाकान्त पौडेलका अनुसार शिवरात्रिका अवसरमा विहान ३ बजेदेखि नै मन्दिरमा भक्तजनहरु स्नान तथा पुजापाठका लागी पुगेका थिए । ३५ हजार बढि भक्तजनहरुले मन्दिरमा दर्शन तथा पुजापाठ गरेको मन्दिर व्यवस्थापन समितिको दावी छ । महाशिवरात्रीका अवसरमा हरेक वर्ष मन्दिरमा मेला लाग्दै आएको छ । मन्दिरमा टाढा टाढाबाट आउने भक्तजनहरुलाई सहजताको लागी दु्रत मार्गको समेत व्यवस्था गरिएको थियो ।
टाढा टाढाबाट आउने तथा छिटो दर्शनका लागी २०० शुल्क तोकेर दु्रत मार्गको व्यवस्थापन गरिएको थियो । शिवरात्रिका अवसरमा दु्रत मार्गबाट मात्रै २ लाख २ हजार २०० संकलन भएको होे । द्रुत मार्गमा बृद्धबृद्धा, असक्तका लागी निशुल्क प्रवेश दिईएको थियो । आर्थिक संकलन समितिका संयोजक पौडेलका अनुसार आजिवन सदस्यताबाट ७ हजार ५००, सहयोग रसिदबाट ९० हजार ९३१, भजनमण्डली तथा मन्दिरबाट १ लाख ९ हजार ६००, स्टल भाडाबाट ८९ हजार ८००, दानपेटिकाबाट १ लाख ७ हजार गरी ६ लाख ७ हजार ३१ रुपैँया भेटि संकलन भएको हो । मन्दिरमा बारा, बर्दिया, कपिलवस्तु, रुपन्देही, पर्वत, तनहुँ, पाल्पा, अर्घाखाँची, कास्कीलगायतका जिल्लाहरुबाट भक्तजनहरु पुजापाठका लागी आएका थिए ।
सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गको किनारमा अवस्थित मन्दिरको पछिल्लो समय प्रचारप्रसार भएसँगै विभिन्न चाडपर्वमा स्नान गर्न आउने भक्तजन बढ्दै गएका छन् । यहाँ विषेशगरी महाशिवरात्री, वैशाख संक्रान्ति, साउन संक्रान्ति, हरिशयनी एकादशी, साउनको सोमबार, तीज, श्रीकृष्णअष्टमी, माघे संक्रान्ति, हरिबोधनी एकादशी, बालाचर्तुदशी, माता तीर्थऔँशी, प्रत्येक एकादशी लगायत विभिन्न पर्वहरुमा भक्तजनहरु मन्दिरमा पुजापाठ तथा दर्शनका लागि आउने गर्दछन् । श्री स्वस्थानी ब्रत कथामा समेत छाङछाङदी मन्दिरको विषयमा उल्लेख गरिएको छ ।