समाचार
४३औँ मगर एकता दिवस विविध कार्यक्रम गरी मनाईयो ।
रेडियो आँधीखोला
वालिङ, १५ फागुन ।
४३औँ मगर एकता दिवस आज विविध कार्यक्रम गरी मनाईएको छ । २०३९ साल फागुन १५ गते तनहुँको दमौलीमा पहिलो पटक स्थापना भएको दिनलाई मगर संघले स्थापना दिवसको रुपमा मनाउँदै आएको छन् । दिवसका अवसरमा स्याङ्जाका विभिन्न पालिका तथा वडा वडामा रहेका मगर संघहरुले विविध कार्यक्रम गरी मनाएको हुन् । यसैबीच यता नेपाल मगर संघ वालिङले मगर समाज भवन परिसर खेलमैदानमा भव्यताका साथ दिवस मनाएको छ । मगर भेषभुषा, झाँकीको प्रर्दशनी, विभिन्न खेलकुद प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम सहित दिवस मनाएका हुन् ।
वालिङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सांसद निर्मला थापाले मगर समुदाय आफ्नो हकहित र अधिकारका लागी संगठित भएको दिन मगर संघ स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभयो । साथै सांसद थापाले गण्डकी प्रदेश सरकारले मगर भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्नका लागी विभिन्न चरणको तयारी गरिरहेको बताउनुभयो ।
देशको विभिन्न ऐतिहासिक आन्दोलनमा मगर समुदायको अतुलनिय योगदान गरेको भन्दै प्रथम शहिद लखन थापाको बलिदानीको चर्चा गर्नुभयो । देश अहिले संघिय प्रणालीमा गैसकेपछि विभिन्न कानुन निर्माण गर्ने तथा नेतृत्वदायी तहमा समेत मगर समुदायका व्यक्तिहरु पुगिसकेको र संविधानमा समेत मगर हकअधिकारको सुनिश्चित गरेको भन्दै ति हक अधिकारको प्राप्तीका लागी सबै एकजुट हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल मगर संघ केन्द्रिय सदस्य खगिसरा थापाले मगर भेषभुषा, भाषासंस्कृतिको संरक्षण गर्दै मगर समाजलाई थप शसक्त बनाउनका लागी सबैको भुमिका महत्वपुर्ण रहने बताउनुभयो । कार्यक्रममा नेपाल मगर संघ जिल्ला समन्वय समिति उपाध्यक्ष उमेश दर्लामी, नेपाल पत्रकार महासंघका सह–सचिव कला राना, नेपाल मगर संघ जिल्ला समन्वय समिति सदस्य सिता थापा, तमु सेवा समाज वालिङका सचिव जंगबहादुर गुरुङ, नेपाल मगर महिला संघ वालिङ नगर अध्यक्ष बेतमाया थापालगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रमा बालबालिका, महिला तथा पुरुषहरुका लागी विभिन्न रोचक खेल प्रतियोगिताको आयोजना गरिएको थियो भने विजेताले पुरस्कार प्राप्त गरेका छन् ।
कार्यक्रममा नेपाल मगर संघलाई योगदान पु¥याउने तथा मगर समुदायबाट शिक्षा, स्वास्थ्य, समाजिक क्षेत्र, सञ्चार क्षेत्रमा सक्रिय कार्य गर्दै आउनुभएका सुबेधार धनबहादुर डाला, कला राना, सोमु राना, सिता थापा, देवि थापा, गिरिप्रसाद दर्लामी, चन्द्रबहादुर श्रीष, मनबहादुर राना, समिक्षा सारु, माया दर्लामी, प्रतिक्षा थापालाई सम्मानपत्रले सम्मान गरिएको थियो ।
कार्यक्रम नेपाल मगर संघ वालिङ नगर अध्यक्ष क्या. विश्वप्रकाश थापाको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत उपाध्यक्ष क्या. खिमबहादुर थापा र सञ्चालन सचिव कुलबहादुर थापाले गर्नुभएको थियो । औपचारिक कार्यक्रम शुरु गर्नु अघि बाजागाजा सहितको मगर भेषभुषा तथा झाँकी ¥यालीले वालिङ बजार परिक्रमा गरिएको थियो ।
२०३९ मा मगर संघको पहिलो महाधिवेशन भए तापनि त्यस अघिदेखि नै मगरहरु विभिन्न ढंगले संगठित हुँदै आएको तथ्यांक पाइन्छ । मगरहरुको सांगठनिक रुपले गोलबन्द भएको दिनको रुपमा विश्वभरमा सांगठनिक पर्वको रुपमा यो दिवस मगर बस्ती बस्तीमा मनाउँदै आइरहेका छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा मगर समुदायको जनसंख्या २० लाख १३ हजार चार सय ९८ रहेको छ । यो कुल जनसंख्याको ६.९ प्रतिशत हो ।
यसैबीच मगर दिबशको अवसरमा स्याङ्जाको गल्याङमा नेपाल मगर संघको आयोजनामा नृत्य प्रतियोगिता सहित शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम भएको छ । चिन्नेपानीबाट शुरु भएको ¥याली बजार परिक्रमा सहित कार्यक्रम स्थल लामभित्तामा पुगेर कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा पूर्व सांसद महेन्द्र थापा मगरले मगर समुदाय एक भएर हक अधिकारका लागि लड्नुपर्ने बताउनुभयो । कार्यक्रममा नेकपा एमाले गल्याङ नगर कमिटि अध्यक्ष दानबहादुर थापा, गल्याङ नगरपालिका ११ का अध्यक्ष दलबहादुर सिंजाली, गल्याङ नगरपालिका शिक्षा समिति सदस्य चन्द्र राना लगायतले बोल्नुभएको थियो । नेपाल मगर संघ गल्याङ नगरसमितिका अध्यक्ष कुमार रानाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिब रेशम रानामगरले गर्नुभएको थियो ।