समाचार
स्याङ्जा–पोखरा सिद्धार्थ राजमार्ग डेडिकेटेड दुईलाईन बन्नेछ ः पुर्व मन्त्री अर्याल
रेडियो आँधीखोला
वालिङ, २१ फागुन ।
पुर्व मन्त्री पद्मा अर्यालले स्याङ्जा–पोखरा सिद्धार्थ राजमार्ग यही आवको निति तथा कार्यक्रम र बजेटमा सम्बोधन हुने बताउनुभएको छ । यो राजमार्गको विषयमा धेरै कुरा उठिरहेको भन्दै वालिङमा आजबाट शुरु भएको प्रथम पिंक सिटि महोत्सवलाई सम्बोधन गर्दै पुर्व मन्त्री अर्यालले २०७७÷७८ को बजेटमा १४ अर्ब बजेट विनियोजन भएपनि सरकार परिर्वतनसंगै हटाईएको भन्दै वर्तमान सरकारले यो विषयलाई सम्बोधन गर्ने बताउनुभयो ।
कांगे्रस र एमाले मिलेर बनेको सरकारले अधुरा कामलाई सम्पन्न गर्नका लागी सरकार अगाडि बढेको पुर्व मन्त्री अर्यालले बताउनुभयोे । अधुरा कामलाई सम्पन्न गर्नका लागी वर्तमान सरकार लागि परेको भन्दै समृद्धिका लागी र नागरिकका अधुरा सपना पुरा गर्न गठबन्धनको सरकार बनेकोे उहाँको भनाई थियो । साथै पुर्वमन्त्री अर्यालले समृद्धिको लागी गाउँ, नगर समृद्धि हुन आवश्यक रहेको बताउनुभएको थियो । भाषणमा मात्रै समृद्धि सिमित हुन नहुँने भन्दै यस क्षेत्रका राजनितिक दल तथा व्यापारी व्यवसायीलाई नेतृत्व गर्ने संस्थाहरुले साझा छलफल गरी सोही अनुसारको योजनाका साथ अगाडि बढ्न उहाँको सुझाव छ ।
कार्यक्रममा गण्डकी प्रदेशका पुर्व मन्त्री सरस्वति अर्यालतिवारी, नेकपा एमाले जिल्ला अध्यक्ष पारस गैह्रे, नेपाली कांगे्रसका कार्यबहाक जिल्ला सभापति केदार काफ्ले, नेकपा माओवादीका जिल्ला इन्र्चाज शैलेन्द्र घिमिरे, एकिकृत समाजवादीका जगदिशप्रसाद गैह्रे, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष राजेन्द्रप्रसाद गैह्रे, जिल्ला समन्वय समिति प्रमुख श्रीप्रसाद जिटि, वालिङ नगरपालिका प्रमुख कृष्ण खांण, स्याङ्जा चेम्बर अफ कमर्सका अध्यक्ष लोकनाथ रेग्मी, पोखरा चेम्बरका अध्यक्ष उमराज बास्तोला, जेसिज केन्द्रिय उपाध्यक्ष गणेश सापकोटा, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठलगायतले बोल्नुभएको थियो । कार्यक्रम चेम्बर अफ कमर्स वालिङका अध्यक्ष प्रकाश न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत वरिष्ठ उपाध्यक्ष मणिप्रसाद पंगेनी र सञ्चालन महासचिव गणेश राउतले गर्नुभएको थियो ।
महोत्सवमा कृषि प्रदर्शनी, अन्तर पालिकास्तरीय भलिवल प्रतियोगिता, स्थानीय कला संस्कृति, शैक्षिक प्रदर्शनी, पशुपंक्षी प्रदर्शनी, जैविक विविधता प्रदर्शनी, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, पर्यटकीय तथा धार्मिक क्षेत्रको फोटो प्रदर्शनी, काव्य गोष्ठी, टिकटक प्रतियोगिता, रीतिरिवाज झल्कने सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिने छ ।
महोत्सव अवधिको गतिविधि टिकटक मार्फत प्रचारप्रसार गर्ने, चेम्बरलाई ट्याग गर्नेलाई लाईक र भ्युजको आधारमा विजेता, उपविजेता छनोट गरिनेछन् । टिकटक प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीले १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । साथै महोत्सवमा पालिकास्तरीय भलिबल प्रतियोगिता, नृत्य प्रतियोगितालगायतका विभिन्न प्रतियोगितात्मक कार्यक्रम समेत हुनेछन् ।
महोत्सवमा २५० स्टल छन् । महोत्सव अवधिभर कूल रु. पाँच करोडको आर्थिक कारोबार हुने लक्ष्य लिइएको छ भने दुई लाख भन्दा बढीले महोत्सवको अवलोकन गर्ने अनुमान आयोजकले गरेको छ । महोत्सवमा रु. ६६ लाख १५ हजार आम्दानी गर्ने र ६ लाख १५ हजार रुपैयाँ बचत हुने अनुमान आयोजकको छ । महोत्सव चैत्र ३ गते समापन हुनेछ ।