समाचार
भीरकोट नगरपालिकाले चौंथो नगर बालमैत्री दिवस मनायो
रेडियो आँधीखोला
वालिङ, २२ फागुन ।
भीरकोट नगरपालिकाले चौंथो नगर बालमैत्री दिवस–२०८१ मनाएको छ । विहिबार एक समारोहका बीच चौँथो बालमैत्रि दिवस मनाएको हो । कार्यक्रममा गण्डकी प्रदेशका पुर्व मन्त्री मेखलाल श्रेष्ठले शिक्षकले विद्यार्थीको मनोभावना, चाहना र वस्तुस्थिती बमोजिम शिक्षण गर्नुपर्ने बताउनुभयो । आजका विद्यार्थीले नै असल समाज निर्माणका लागी भुमिका खेल्ने भएकाले अनुशासित र जिम्मेवारी भएर अध्ययनमा लाग्न आग्रह गर्नुभयो । साथै उहाँले अभिभावकले विद्यालयको र आफ्नानानीबाबुहरूको शैक्षिक गतिविधिबारे जानकार रहनुपर्ने बताउँदै विद्यालयको शैक्षिक गुणस्तरका लागी शिक्षक, अभिभावक र विद्यार्थीको एकआपसमा सम्बन्ध सुमधुर हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा पूर्व नगर प्रमुख छाँयाराम खनाल, नगर प्रवक्ता दिपेन्द्र के.सी., नेपाली काँग्रेस भीरकोटका सभापति याम प्रसाद अधिकारी, नेकपा एमाले भीरकोटका अध्यक्ष हर्क गुरूङ, राष्ट्रिय प्रजातन्त्र पार्टी भीरकोटका अध्यक्ष हर्क बहादुर रोका, सहिद शुक्र मा.वि. प्रधानाध्यापक चोलाकान्त काफ्ले, बालोदय मा.वि. का प्रिन्सिपल अमृत अर्याल, नगर बाल संजालका सदस्य कुसुम रेग्मीलगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा भीरकोट नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले बालबालिकाको अधिकार सुनिश्चित गर्नका लागी नगर पालिकाले हरसम्भव प्रयास गरिरहेको बताउँदै बालविवाहको अन्त्य गर्न, लागु औषध दुव्र्यसनी, धुम्रपान, मद्यपान जस्ता कुलतबाट टाढै राख्न विद्यार्थीहरुलाई सचेतनामुलक कार्यक्रम गरिएको बताउनुभयो । कार्यक्रममा बालमैत्री नगर सहजकर्ता विष्णुमाया काफ्लेले बालमैत्रि कार्यक्रमको वार्षिक प्रगती विवरण प्रस्तुत गर्नुभएको थियो ।
नेपालको ७ औं, गण्डकी प्रदेशको दोस्रो र स्याङ्जा जिल्लाको पहिलो बालमैत्री भीरकोट नगरपालिकाले विद्यालयमा न्यानो कपडा र शैक्षिक सामाग्री वितरण, उत्कृष्ट विद्यार्थीलाई पुरस्कार, लागू औषध दुव्र्यसनी र बालविबाह सम्बन्धी सचेतना कार्यक्रम गर्दै आएको छ । कार्यक्रम नगरप्रमुख गोविन्दकुमार कर्माचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत उपप्रमुख भवगती अर्याल र संचालन योजना शाखाका यामप्रसाद रेग्मीले गर्नुभएको थियो । कार्यक्रममा एसईई परिक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने छात्रछात्रा २ जना, कक्षा ८ मा पहिलो, दोस्रो र तेस्रो हुने ५ जना विद्यार्थी, अंगे्रजी, गणित र विज्ञान विषयमा ९० प्रतिशत विद्यार्थी सफल बनाउने शिक्षक र सामाजिक नेपाली विषयमा शतप्रतिशत विद्यार्थी उर्तिण बनाउने शिक्षक गरी ९ जना शिक्षक, एसईई परिक्षमा उत्कृष्ट नतिजा ल्याउने बालोदय मावि, दभुङठाटी र दहथुम मावि पुरस्कृत भएका छन् ।