समाचार
विरुवा गाउँपालिकाको आर्थिक वर्ष २०८१ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाई
वालिङ, २८ फागुन ।
विरुवा गाउँपालिकाको आर्थिक वर्ष २०८१ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम विरुवा गाउँपालिका ७ कुसुम भञ्याङमा सम्पन्न भएको हो । आगामी दिनहरु पालिकाले रचनात्मक तथा नयाँ कार्यक्रम तय गर्ने हेतुले कुसुम भञ्याङमा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा विरुवा गाउँपालिकाका अध्यक्ष सूर्य बहादुर कुवरले पालिकाको विद्युतीकरणलाई व्यवस्थीत बनाउन नेपाल प्राधिकरणलाई जिम्मा लगाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा उठेका जिज्ञासाहरुको जवाफ दिदै उहाँले पालिका स्तरीय अस्पताल चिन्नेबासमा संचालन गर्न लागिएको जानकारी दिनुभयो । त्यसैगरी उहाँले रचनात्मक सुझावहरुलाई ग्रहण गर्दै आगामी दिनहरुमा सुधार गर्दै जाने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा पालीकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज आचार्यले पालिकाले हाल सम्म गरेको प्रगतिप्रदिवेदन प्रस्तुत गर्नुभयो ।
कार्य सम्पादनको मुल्याङकमा विरुवा गाउँपालिका गण्डकी प्रदेशमा चौथो र जिल्लामा पनि चौथो भएको उहाँले बताउनुभयो । कार्यक्रममा ७ नं. का वडा अध्यक्ष मेखराज गुरुङ लगाएतले मन्तव्य राख्नुभएको थियो भने तालबहादुर गुरुङ, मेहरमान गुरुङ, मोहन खाँण, नरबहादुर गुरुङ, मनबहादुर गुरङ, शेरबहादुर थापा, धनबहादुर थापा, नविन कुमार गुरुङ, आतमायाँ गुरुङ, युवराज केसी, डोलकुमार गुरुङ, बालसिंह गुरुङ र ओमबहादुर गुरुङ लगायतले जिज्ञासा राख्नुभएको थियो ।
विरुवा गाउँपालिका अध्यक्ष सुर्य बहादुर कुवरको अध्यक्षतामा सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष भगवती पोख्रेलले राख्नुभएको थियो भने संचालन आँधिखोला एक्सप्रेस स्याङजाका प्रतिनिधी राधाकृष्ण शर्माले गर्नुभएको थियो । सोही सार्वजनिक सुनुवाई कार्यक्रमको सहजिकरण पुतलीबजार नगरपालिका १ मा रहेको आँधिखोला एक्सप्रेस न्यूज प्रा.लि.ले गरेको थियो ।