समाचार
पुतलीबजारको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
वालिङ, २८ फागुन ।
पुतलीबजार नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाको सेवा प्रवाह, नीति योजना र कार्यक्रमका सम्बन्धमा जानकारी गराउने उद्देश्यले पुतलीबजार नगरपालिकाको आयोजना र सामुदायिक रेडियो स्याङ्जा एफ.एम. तथा स्याङ्जा टेलिभिजनको सहजीकरणमा आर्थिक वर्ष २०८१÷०८२ अन्तर्गत दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा उठेका प्रश्न, गुनासा र सुझावहरुको जवाफ दिदै नगर प्रमुख तुलसीराम रेग्मीले प्रदेश र संघिय सरकारसंग समन्वय र सहकार्य गरि समृद्ध पुतलीबजार बनाउनका लागी अहोरात्र खटीरहेको बताउनुभयो । उहाँले नगरपालिकाले बाजो जग्गालाई उपयोग गर्ने र नगर भित्रका किसानहरुका लागी ४ सय हाते ट्याकटर उपलब्ध गराउने उद्देश्यले १२० वटा हाते ट्याक्टर वितरण गरिसकिएको र अब बाँकि हाते ट्याक्टर वितरण गर्न लागेको बताउनुभयो ।
उहाँले स्वास्थ्यको क्षेत्रमा जिल्ला अस्पताल स्याङ्जामा निशुल्क डायलायसिस सेवा, ब्लड बैंकको स्थापना, सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुका लागी दिवा खाजा, किसानहरुका लागी बिउ बिजन वितरण र उद्यमशिल तालिम लगायतका कार्यक्रम पालिकाले गर्दै आईरहेको बताउनुभयो । नगर प्रमुख रेग्मीले शिक्षा, स्वास्थ्य, सडक स्तरोन्नती, सिंचाई, बाँदर नियन्त्रण, बाँजो जग्गा उपयोग, आय मुलक सिप र व्यवसायिकरण लगायतका विषयमा राखिएका राय, सुझाव र जिज्ञासाहरुका विषयमा पालिकाको तर्फबाट जवाफ दिनुभएको थियो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुङ्गानाले पालिकाबाट प्रवाह हुने सेवा सुविधाबारे जानकारी गराउँदै, सुनुवाईको उद्धेश्य माथी प्रकाश र चौमासिक अवधिको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यस्तै, पुतलीबजार नगरपालिकाका प्रशासन प्रमुख धनप्रसाद कोईरालाले सेवा प्रवाह सम्बन्धी र योजना शाखा प्रमुख डोलराज ढकालले योजनाहरुको बारेमा संक्षिप्तमा जानकारी गराउनुभएको थियो ।
पुतलीबजार नगरपालिका वडा न १० राङ्खोला स्थित सोपान अङ्ग्रेजी आवासिय मा वि मा सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा नेपाली काँग्रेसका नगर सभापति सुरज कुमार अधिकारी, नेकपा एमाले नगर उपाध्यक्ष मनोज मान श्रेष्ठले राय सुझाव सहितका जिज्ञासाहरु राख्नुभएको थियो । कार्यक्रममा शिव प्रसाद तिमिल्सिना, केशर बहादुर अधिकारी, यामुना बोहोरा, हुम बहादुर गुरुङ्, भुमिजंग के सी लगायतले शिक्षा, स्वास्थ्य, सडक स्तरोन्नती, सिंचाई, बाँदर नियन्त्रण, बाँजो जग्गा उपयोग, आय मुलक सिप र व्यवसायिकरण लगायतका विषयमा जिज्ञासा राख्नुभएको थियो ।
पुतलीबजार नगर प्रमुख तुलसीराम रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा नगर उप प्रमुख देवी अर्यालले स्वागत मन्तव्य, वडा न १० का अध्यक्ष अग्नी प्रसाद पौडेलले धन्यवाद मन्तव्य र सामुदायिक रेडियो स्याङ्जा एफ एम तथा स्याङ्जा टेलिभिजनका प्रमुख व्यवस्थापक रमेश गोदारले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।