समाचार
चापाकोट कृषि क्याम्पसको भवन बनाउन टेण्डर आह्वान
वालिङ, ४ चैत ।
स्याङ्जाको चापाकोट नगरपालिका ८ मा प्राकृतिक स्रोत व्यवस्थापन कलेज (चापाकोट कृषि क्याम्पस)को भवन बनाउन टेण्डर आह्वान भएको छ । शहरी विकास मन्त्रालय शहरी विकास तथा भवन निर्माण विभाग संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय कास्कीले टेण्डर आह्वान गरेको हो । भवन बनाउनका लागि ९८ लाख १६ हजार ३ सय ९५ रुपैया र २४ पैसा भ्याट बाहेक बजेट तोकिएको छ ।
आगामी बैशाख २ गतेसम्म टेण्डर पेस गर्न सकिने कार्यालयले जनाएको छ । टेण्डर सोही दिन १ बजे खोलिने भएको छ । गत आर्थिक वर्षमा पनि यस क्याम्पसको लागि शिक्षा मन्त्रालयबाट ५० लाख बजेट विनियोजन भएको थियो तर रकम के कसरी खर्च गर्ने भनेर निर्णय नहुँदा फ्रिज भएको थियो । चापाकोटमा कृषि क्याम्पस स्थापना गर्नुपर्छ भनेर स्व. पूर्व शिक्षा सचिव शान्त बहादुर श्रेष्ठको पहलमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएको बेला २०७४ बैशाख ५ गते चापाकोटमा कृषि क्याम्पस खोल्ने निर्णय भएको थियो ।
निर्णय भएकामध्ये केहीमा त्यही शैक्षिक सत्रदेखि त केहीमा आर्को वर्षबाट नै पढाइ सुरु भए पनि चापाकोटमा अहिलेसम्म भएको छैन् । कृषि क्याम्पसको लागि त्यतिवेलै एक करोड बजेट परेर पनि खर्च हुन नसक्दा फ्रिज भएको थियो । चापाकोट नगरपालिका नगरप्रमुख देवबहादुर खाँण (इश्वर) ले सबैको पहलमा कृषि क्याम्पसका काम अगाडि बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “प्राकृतिक स्रोत व्यवस्थापन कलेज (चापाकोट कृषि क्याम्पस)को भवन बनाउन टेण्डर आह्वान भएको छ । यसमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा लाग्नुहुने सबै जना धन्यवादको पात्र हुनुहुन्छ ।”