समाचार
नवग्रह मन्दिरमा यही चैत १६ गते, शनिग्रह विशेष र साढेसाती पूजा हुने
वालिङ, ९ चैत ।
नेपालकै पहिलो नवग्रह मन्दिरमा यही चैत १६ गते शनिग्रह विशेष र साढेसाती पूजा हुने भएको छ । अर्जुनचौपारी गाउँपालिका –१ मा हालै निर्माण भएको नवग्रह मन्दिरमा शनिग्रह शान्तिका लागि १६ चैतमा विशेष पूजा हुन लागेको हो । यो पूजा नेपालमा पहिलो आयोजना गरिएको र जुन धार्मिक महत्वका दृष्टिले मात्र नभई सामाजिक र सांस्कृतिक दृष्टिकोणबाट समेत विशेष रहने गाउँ पालिका अध्यक्ष प्रकाश तिवारीले जानाकारी दिनुभयो । विशेष पूजाको अवसरमा नवग्रहका स्वामी शिव, हनुमान तथा शनिदेवको अभिषेक एवं विधिपूर्वक पूजा गरिनेछ ।
शनिदेवको निशानप्रतिमा राखिएको रापाकोट कालिका मन्दिरमा समेत पूजा गरिनेछ भने चैत १६ गते सूर्यग्रहण लाग्ने भएकाले यो दिनको पूजालाई अझ विशेष मानिएको छ । ज्योतिष शास्त्रअनुसार नौ ग्रहहरुमध्येका एक शनि ग्रह कर्म, अनुशासन, न्याय, धैर्यता, र जिम्मेवारीको प्रतीक मानिन्छन् । शनि मानिसलाई जीवनमा कठोर परिश्रम, धैर्य, र आत्मअनुशासन सिकाउने ग्रह हुन् । नवग्रहहरुमध्ये शनिको सबैभन्दा सुस्त गति भएपनि मानव जीवनमा यसको प्रभाव गहिरो एवम् दिगो हुन जान्छ । आगामी चैत्र १६ गते अर्थात् चैत्र कृष्ण औंसीका दिनमा शनिग्रह आफ्नो कुम्भ राशिबाट वृहस्पति ग्रहको स्वामित्वमा रहने मीन राशिमा अर्थात् १२औं घरमा प्रवेश गर्नेछन् ।
शनि ग्रहलाई शान्त पारी यसको असर कम गर्नका लागि स्याङ्जाको अर्जुनचौपारीमा रहेको नेपालकै पहिलो नवग्रह मन्दिरमा शनिग्रह विशेष पुजा गरिनेछ । चैत्र १६ गतेका दिनमा यहाँ नवग्रहका स्वामी शिव, हनुमान तथा शनिदेवको विशेष पुजाआजा गरिनेछ। साथै, शनिदेवको निशान प्रतिमा राखिएको रापाकोट कालिका मन्दिरमासमेत पुजा गरिनेछ। सो दिनमा हनुमान चालिसा वाचन, भजनकिर्तनसमेत गरिने भएकाले सम्पूर्णलाई नवग्रह मन्दिरमा हुने शनि विशेष पुजामा उपस्थित भई शनिको असर कम गर्न सकिनेछ ।