समाचार
सवारी दुर्घटनामा महिलाको मृत्यु, चालक घाईते
रेडियो आँधीखोला
वालिङ, १० चैत ।
स्याङजाको वालिङ नगरपालिका–६ माझकोट स्थित वालिङ चापाकोट भित्री सडक खण्डमा जिप दुर्घटना हुँदा महिलाको मृत्यु भएको छ । ग १ ज ७५११ न्ां.को जिप सडकबाट अन्दाजी १५० मिटर तल खस्दा जिपमा सवार वालिङ ७ हिलेपानीका ४८ वर्षीय डिलसरा आलेको मृत्यु भएको हो । आले घटनास्थलमै मृत अवस्थामा भेटिनुभएको थियो । २ जना सवार रहेकोमा फरार रहेका चालकको घाईते अवस्थामा वालिङ नगरपालिका–०६ लसुनेबेसारे डाँडामा भेटिएका थिए । चापाकोट नगरपालिका घर भई वालिङ ७ केँवरेमा बस्दै आएका जिप चालक २८ वर्षीय सुरज थापा रहनुभएको छ । थापाको गह्रौँ प्राथामिक अस्पताल वालिङमा उपचार भैरहेको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरिक्षक प्रवेश तिवारीले जानकारी दिनुभयो ।
यसैबीच चापाकोट १ तेनासमा कालीगण्डकी नदीमा एक व्यक्ति बेपत्ता भएका छन् । पाल्पाको रामपुर नगरपालिका–१० कुमालटोल बस्ने ५८ वर्षीय मेघनाथ कुमाल चापाकोट–१ तेउनास भन्ने स्थानमा कालीगण्डकीमा हाम फाली बेपत्ता हुनुभएको हो । कुमाल बैदेशिक रोजगारीको सिलसिलामा बाहिर रहेको छोरीलाई सामान पठाउन भनी घरबाट हिँड्नुभएको थियो । सामान पठाउने ठाउँमा नपुगी कालीगण्डकी नदीमा हाम फाली बेपत्ता भएको उहाँको प्रहरीले खोजी गरेको जनाएको छ ।