समाचार
स्याङ्जामा १ सय ९७ जना क्षयरोगी भेटिए
रेडियो आँधीखोला
वालिङ, ११ चैत ।
प्रदेश जनस्वास्थ्य कार्यालय, पुतलीबजार, स्याङ्जाले जिल्लाका क्षयरोगका बिरामीहरूको तथ्यांक सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८१÷८२ को फागुन महिना सम्मको विवरणअनुसार स्याङ्जा जिल्लाभित्र हालसम्म १ सय ९७ जना क्षयरोग संक्रमित फेला परेको जनस्वास्थ्य कार्यालयका क्षयरोग निरीक्षक मनिष कुमार महतोले जानकारी दिनुभयो । स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमा अध्यावधिक भएको तथ्यांकअनुसार क्षयरोगीको संख्या १ सय ९७ पुगेको हो । सबैभन्दा धेरै संक्रमित वालिङ नगरपालिकामा भेटिएका छन्, जहाँ संक्रमितको संख्या ४४ छ । त्यस्तै, चापाकोट नगरपालिकामा ३७, भीरकोट नगरपालिकामा ३१, गल्याङ नगरपालिकामा २८ जना क्षयरोगी रहेको जनाइएको छ। यसैगरी पुतलीबजार नगरपालिकामा संक्रमितको संख्या १६ रहेको छ ।
गाउँपालिकाहरूमा पनि क्षयरोगको प्रभाव देखिएको छ । यद्यपि नगरपालिकाको तुलनामा गाउँपालिकामा क्षयरोग संक्रमितको संख्या न्यून देखिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार आँधिखोला गाउँपालिकामा ३ जना, अर्जुन चौपारी गाउँपालिकामा १०, फेदीखोला गाउँपालिकामा ४, बिरुवा गाउँपालिकामा १६, हरिनास गाउँपालिकामा १ र कालिगण्डकी गाउँपालिकामा ७ जना संक्रमित फेला परेका छन्। फागुन मसान्तसम्म क्षयरोगबाट ७ जनाको मृत्यु भएको छ।पुतलीबजारमा ४ जना , वालिङ, गल्याङ र आँधिखोलामा १÷१ जना गरि ७ जनाको मृत्यु भएको हो।
बिसिजी खोप लगाउने, वातारणीय सरसफाइमा ध्यान दिने, पोषणयुक्त खानेकुरा खाने, धुम्रपान , मद्यपान नगर्ने, भीडभाड, धुलो धुँवा भएको ठाउँमा जाँदा मास्क लगाउने , क्षयरोगबाट संक्रमितले उत्सर्जन गरेका विकार वस्तुको सही व्यवस्थापन गर्ने र गाइभैंसीको दूध राम्ररी उमालेर मात्र सेवन गर्ने गरेमा क्षयरोगबाट बच्न सकिने प्रदेश जनस्वास्थ्य कार्यालय ,पुतलीबजारका प्रमुख केशव चापागाईंले जानकारी दिनुभयो ।
नियमित खोकी लाग्नु, रुघाखोकी हुनु, खकारमा रगत देखा पर्नु, साँझपख ज्वरो आउनु, राति सुतेको बेलामा पसिना आउनु, तौल घट्दै जानु, खाना नरुच्नु क्षयरोगीमा देखिने लक्षण हुन् । यदि हड्डी वा हड्डीको जोर्नीमा क्षयरोग भएको खण्डमा यी माथिल्लो लक्षणबाहेक हड्डी दुख्ने, सुन्निने, छाला रातो हुने जस्ता लक्षण देखिन्छ । त्यस्तै ग्रन्थिमा क्षयरोग भएमा ग्रन्थिमा पीप बग्ने, गाँठो बढ्दै जाने, आन्द्रामा भएको भए खाना कम रुच्ने, कब्जियत हुने जस्ता समस्या देखिन थाल्छन् ।मस्तिष्कमा भए टाउको दुख्ने, बान्ता हुने, बेहोस हुने जस्ता लक्षण देखिन्छ भने मुटुमा भए श्वास फेर्न गाह्रो हुने, थोरै हिंड्दा थकान महसुस हुने, स्याँ स्याँ हुने लक्षण देखिन्छ ।