समाचार
“लाछाको डोरी” बनाएर व्यवसायिक हुने स्याङ्जा मुस्लिम महिलाको इच्छा
रेडियो आँधीखोला
वालिङ, १६ चैत ।
स्याङ्जामा १० दिने लाछा डोरी बनाउने तालिम सम्पन्न भएको छ ।सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजना तथा पुतलीबजार नगरपालिका र बाडखोला मुस्लिम समाजको समन्वयमा तालिमको आयोजना गरिएको हो । तालिमकोे समापन कार्यक्रममा पुतलीबजार नगरपालिका प्रमुख तुलसीराम रेग्मीले लक्षित समुदायका महिलाहरुको यस प्रकारका कार्यक्रमले उनीहरुको आर्थिक सशक्तिकरण सँगै व्यवसायिकता वृद्धि गर्न महत्वपूर्ण भूमिका हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा सामाजिक विकास कार्यालय स्याङ्जाका कार्यालय प्रमुख जीवन पौडेलले मुस्लिम समुदायको परम्परागत सीपको रुपमा रहेको पेशालाई आधुनिक ढंगबाट तालिम सञ्चालन गरी व्यवसाय वृद्धि गर्ने कार्यालयको लक्ष्य रहेको बताउनु भयो । उहाँले सिकेको सिपलाई जीवन उपयोगी बनाउनुपर्ने बताउदैँ सिकान्तकृत नागरिकलाई सचेतना सँगै आर्थिक सशक्तीकरणको लागि आफ्नो कार्यालय सधै सहयोग गर्न तयार रहेको बताउनु भयो ।
मुस्लिम समाज बाडखोलाका वरिष्ठ उपाध्यक्ष शाह खालिद मियाले टोल स्तरमै आएर कार्यालयले मुस्लिम महिलाहरुको सीप विकास र सशक्तिकरणको लागि गरेको यस कार्य अनुकरणीय रहेको बताउनु भयो । कार्यक्रमा मुस्लिम समुदायको हक हित र अधिकारको लागि लागेका विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, पुतलीबजार वडा नं.३ का वडा सदस्यहरु सोमबहादूर नेपाली, हाजि अमिर बक्स मियाँ, बाडखोला मुस्लिम समाजका पूर्व अध्यक्ष हाजि सेर अलिमियाँले आफ्नो धारणा राख्नु भएका थियो । कार्यक्रममा स्याङ्जा जिल्लाका २० जना मुस्लिम समुदायका महिलाहरु सहभागीता रहेको थियो ।
मुस्लिम समाज बाडखोलाका वरिष्ठ उपाध्यक्ष शाह खालिद मियाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन समाजका सचिव अलि महोमद र स्वागत मन्तव्य समाजका सहसचिव अमिर आलमले गर्नुभएको थियो ।
नुरी इस्लामिक मदर्शा स्कुलको प्राङ्गणमा जिल्लाका मुस्लिम समुदायको महिलाहरुको लागि मुसलमान समुदायको आर्थिक सशक्तीकरण गर्ने उद्धेश्यले तालिम सञ्चालन गरिएको हो ।
सहभागि महिलाहरु सिप सिकेपछि सिपलाई घरमै बसेर पनि सदुपयोग गर्न मिल्ने भएपछि खुसी भएका छन् । पुतलीबजार ३ बस्ने २४ वर्षे अनुसा मियाँले अब घरमै बस्दा पनि लाछाको डोरी बुनेर व्यवसायिक ढंगबाट अगाडी बढेर आम्दानी गर्ने बताउनुभयो । जमिना बानुले पनि लाछाको डोरी बनाउने र त्यसलाई बजारसम्म पुर्याएर बेच्ने सोचमा हुनुहुन्छ ।