समाचार
कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशला सम्पन्न
वालिङ, १८ चैत ।
कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशला सोमबार वालिङमा सम्पन्न भएको छ । सहकारीमा सुशासन प्रविधि र एकिकरण भन्ने नाराका साथ रिद्धिसिद्धि बचत तथा ऋण सहकारी संस्था वालिङ ६ मिर्दिको आयोजना र नेफस्कूनको प्राविधिक सहयोगमा कार्यक्रम गरिएको हो । कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका लेखा संयोजक मुक्तिप्रसाद पाण्डेले सहकारीहरुले गरेका राम्रा अभ्यासहरु आदानप्रदान गर्नका लागी यो कार्यक्रम गरिँदै आएको भन्दै आगामी दिनमा सहकारीमा आईपर्ने जोखिमका सवालहरुमा एकतावद्ध भएर अगाडि बढ्ने बताउनुभयो ।
जोखिमा आधारित सुपरिवेक्षण कार्यक्रम तथा कार्यशाला भएकाले सहकारी सञ्चालनका क्रममा भएका अनुभव आदानप्रदान गर्ने अवसर नेफस्कूनले गर्दै आएको भन्दै यसअघिका कार्यक्रमहरु पोखरामा गरिएपनि यो पटक वालिङमा कार्यक्रमगर्न सफल भईएको उहाँले बताउनुभयो । कार्यक्रममा रठ्ठेपानी साकोसका अध्यक्ष कोषप्रसाद गुरुङ, अलकापुर साकोसका अध्यक्ष खेमकान्त पौडेल, नेफस्कूनका फिल्ड कार्यालय पोखराका प्रमुख सुरज चालिसेलगायतले आफ्ना सहकारीका असल अभ्यास र चुनौतीका विषयमा धारणा राख्नुभएको थियो ।
कार्यक्रममा नेफस्कूनका फिल्ड कार्यालय पोखराका कार्यक्रम अधिकृत मनोज खड्काले सहजीकरण गर्नुभएको थियो । नेफस्कूनमा कास्कीका ७ सहकारी र वालिङको रिद्धिसिद्धि गरी ८ सहकारी आवद्ध छन् । कार्यक्रममा सहकारीका सञ्चालक र व्यवस्थापकहरुको सहभागिता रहेको थियो । कार्यक्रम संस्थाका अध्यक्ष नेत्रप्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन सचिव शान्ता थापाले गर्नुभएको थियो ।