समाचार
बाह्रबिसे मेलाको तयारी तिव्र
रेडियो आँधीखोला
वालिङ, १९ चैत ।
ऐतिहासिक बाह्रबिसे मेलाको तयारी तिव्र पारिएको छ । वालिङ नगरपालिका वडा नं. ९ र १३ को संगमस्थल भट्टेचौर आँधीखोला किनारमा यही चैत्र २४ गते रामनवमीका दिन लाग्ने मेलाको तयारी तिव्र रुपमा अगाडि बढाईएको बाह्रबिसे बजार व्यवस्थाापन समितिका सचिव ओमप्रकाश गैह्रेले बताउनुभयो । झण्डै डेढ सय बर्ष अगाडि देखि चल्दै आएको मेला कोरोनाकालमा सञ्चालन भएको थिएन भने गतवर्षदेखि युवाहरुको सक्रियतामा मेलाको पुनः सञ्चालन गरिएको हो । ऐतिहासिक तथा सांस्कृतिक महत्व रहेको मेलाको निरन्तरता दिन युवाहरु एकिकृत भएका छन् ।
बाह्रबिसे मेला प्राचीन समयदेखि निरन्तर लाग्दै आएको सांस्कृतिक तथा धार्मिक पर्व हो । यस मेलाले धार्मिक आस्था मात्र नभई स्थानीय उत्पादन, परम्परा, र आर्थिक गतिविधिलाई पनि प्रवद्र्धन गर्ने महत्वपूर्ण भूमिका खेल्दै आएको छ । मेलाको एक विशेषता भनेको यहाँ माटोबाट निर्मित भाँडाकुँडा, परम्परागत हस्तकलाका सामग्री, उखु र गुड जस्ता स्थानीय उत्पादनहरूको बिक्री वितरण र प्रदर्शन हो ।
यी वस्तुहरू मेलाको मौलिकता झल्काउने मुख्य आकर्षण पनि हुन् । मेलाका लागी स्टल निर्माण कार्य जारी रहेको छ भने मेलास्थलमा सहज रुपमा जानका लागी पाठखोलामा काठको फड्के बनाउने कार्य समेत सम्पन्न भएको छ । मेलामा स्थानीयले उत्पादन गरेका आलुका परिकारहरु समेत बनाएर विक्रि गरिनेछ भने राष्ट्रिय कलाकारको समेत प्रस्तुति रहनेछ ।
मेला सम्पन्न गर्नका लागी विभिन्न सामाजिक व्यक्तित्वहरुले आर्थिक सहयोग समेत गरेका छन् । संस्कृतिको रक्षा गर्दै स्थानीय उत्पादनको विक्रि गर्ने थलोका रुपमा मेलालाई पहिचान गराउने बजार व्यवस्थापन समितिले जनाएका छन् । मेलामा राष्ट्रिय कलाकारहरु श्याम राना, नेत्र खडका, सुनिता नेपाली, राजेश भण्डारी, जगत गौडेलको प्रस्तुति रहनेछ भने नृत्यकार अस्मिता रनपाल, गायिका प्रतिमा गैह्रे, संस्कार गैह्रे, नृत्यकारहरु सुर्वी श्रेष्ठ, जस्मिन थापा, दिपा रनपाल, निस्मा खनाल, सविता डुम्रेको प्रस्तुति रहनेछ ।