समाचार
श्री सरस्वती मा.विको ५० बर्षमा प्रवेश गरेको अवसरमा स्वर्ण महोत्सव
वालिङ, २१ चैत ।
स्याङ्जा वालिङ नगरपालिका वडा नं. १३ मा रहेको सरस्वती माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा स्र्वण महोत्सव मनाउन शुरु गरेको छ । वि.सं. २०३१ सालमा स्थापना भएको विद्यालयको स्वर्ण महोत्सवको उद्घाटन गर्दैै नेपाल सरकारका सुचना तथा सञ्चार मन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले परम्परागत शैक्षिक प्रणालीबाट शैक्षिक उन्नयन हुँन नसक्ने बताउनुभएको छ । स्र्वण महोत्सवलाई सम्बोधन गर्दै मन्त्री गुरुङले भन्नुभयो, “अव सामुदायिक विद्यालयहरु फरक ढंगबाट सञ्चालन हुँन आवश्यक छ । विद्यालयमा भौतिक पुर्वाधार मात्रै नभई विद्यार्थीलाई तथा अभिभावकलाई उक्त विद्यालय पुग्न कत्तिको सहज भएको छ त्यतातर्फ पनि ध्यान दिन आवश्यक छ ।”
सामुदायिक विद्यालयहरुमा छात्रवासको व्यवस्था, स्कुल बस, प्रयाप्त प्रयोगशाला, अतिरिक्त क्रियाकलापहरुलगायतमा पनि विद्यालयले ध्यान पु¥याउन आवश्यक रहेको मन्त्री गुरुङको भनाई छ । बोर्डिङ स्कुलमा मात्रै होस्टेल, स्कुल बसलगायतको सुविधा हुन्छ भन्ने मानसिकता चिर्नका लागी सामुदायिक विद्यालयले फरक तरिकाबाट अगाडि बढ्नुपर्नेमा उहाँको जोड थियो ।
राज्यले शिक्षाका क्षेत्रमा अहिलेसम्म अबौँ खर्च तथा लगानी गरेपनि सोहीअनुसारको उपलब्धी हाँसिल गर्न नसक्नु दुखदायी विषय भएको भन्दै सँधै परम्परागत शैलीमा हिँड्न नहुँने मन्त्री गुरुङले बताउनुभएको हो । नयाँ ढंगबाट शैक्षिक क्षेत्रलाई अगाडि बढाउनपर्छ भनिरहँदा त्यहाँ खर्च तथा आवश्यक दरबन्धीको पनि आवश्यकता रहने भएकाले अव सरकारले विद्यालयमा खेलक्षेत्रमा नयाँ दरबन्धीमा शिक्षक राख्ने, स्कुल बसहरु सञ्चालनमा ल्याँदा चालकहरुको दरबन्दी पनि ल्याउनुपर्नेमा जोड दिँदै सरकारले शैक्षिक क्षेत्रमा नयाँपन ल्याउने गरी अगाडि बढ्ने बताउनुभयो ।
कार्यक्रममा पूर्व मन्त्री तथा नेकपा (एमाले)का सचिव पद्माकुमारी अर्यालले शिक्षा क्षेत्रमा ठूलो परिवर्तन आएको बताउनुभयो । शिक्षकको पीडा र जायज माग प्रति आफूहरू गम्भीर रहेको बताउनुभयो । व्यवस्था फेरिएको तर अवस्था नफेरिएको भन्ने गुनासो आउने गरेको भन्दै नेता अर्यालले अवस्थामा पनि परिवर्तन आएको स्पष्ट पार्नुभयो । कुनै बेला जीर्ण भवनमा बसेर अध्ययन गर्नु पर्ने अवस्था रहेको स्मरण गर्दै उहाँले गणतन्त्रले सबै सम्भव भएको बताउनुभयो ।
कार्यक्रममा पुर्वमन्त्री जगत विश्वकर्मा, पुर्व विद्यार्थी प्रकाश डुम्रे र अन्जु विश्वकर्मालगायतले बोल्नुभएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक वाईबि कुँवरले विद्यालयको प्रगति विवरण तथा भावी योजनाका विषयमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष नमलाल डुम्रेको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन शिक्षकहरु विनोद खनाल र तुल्सीराम पाठकले नर्गुभएको थियो ।
स्र्वण महोत्सवका अवसरमा विहिबार स्र्वण स्मारक अनावरण, विद्यार्थी प्रतिभा प्रस्तुत, मनकुमारी स्मृति छात्रवृत्ति वितरण, जग्गादाता, संस्थापक, पुर्व शिक्षक, चन्दादाताहरुलाई सम्मान, राष्ट्रिय कलाकार तथा विद्यार्थीहरुद्धारा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको छ । त्यस्तै शुक्रबारको कार्यक्रमलाई वालिङ नगरपालिका प्रमुख कृष्ण खांणले सम्बोधन गर्नुहुँनेछ भने निशुल्क दन्त परिक्षण, जिल्लास्तरीय अन्तर मावि हिज्जे प्रतियोगिता, सम्मान तथा पुरस्कार वितरण र राष्ट्रिय कलाकार तथा विद्यार्थीहरुद्धारा विविध सांस्कृतिक कार्यक्रम रहनेछ । त्यस्तै अन्तिम दिन शनिबार पुर्व मन्त्री धनराज गुरुङले कार्यक्रमलाई सम्बोधन गर्ने वडा स्तरीय अन्तर आमा समूह लोकगित प्रतियोगिता, सम्मान तथा पुरस्कार वितरण, राष्ट्रिय कलाकार तथा विद्यार्थीहरुद्धारा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत सहित समापन गरिने विद्यालयका प्रधानाध्यापक वाईबि कुँवरले बताउनुभयो ।
महोत्सवबाट विद्यालयले प्रविधि–मैत्री आवासीय शिक्षाको उद्घोष गर्दै भविष्यका योजनाहरू अघि सारेको छ। विद्यालयले अबका दिनमा शिक्षाबाट कोही पनि वञ्चित नहोस् भन्ने उद्देश्यका साथ आवासीय विद्यालयको रूपमा सञ्चालन गर्ने योजना बनाएको छ। विशेष गरी गरिब, दुःखी, विपन्न र टुहुरा बालबालिकालाई लक्षित गरी छात्रावास व्यवस्थापन तथा शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने योजना बनाइएको छ ।