समाचार
प्रधानमन्त्री ओलीले बिम्स्टेक सम्मेलनलाई आज सम्बोधन गर्नुहुने, मोदीसँग भेटवार्ता तय
चैत २२, प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) कोे छैटौं शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै हुनुहुन्छ । उहाँसहित सदस्य देशका सरकार प्रमुखहरुले सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
शिखर सम्मेलनको पहिलो कार्यसूचीमा ‘बिम्स्टेक म्यारिटाइम ट्रान्सपोर्टको अपरेसन’मा हस्ताक्षर गर्ने रहेको छ । आयोजक राष्ट्र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राले स्वागत सम्बोधन गरेपछि कायसूचीहरु प्रस्तुत गरिनेछन् । त्यसपछि बङ्गलादेश, भुटान, भारत, म्यान्मार, नेपाल र श्रीलङ्काका प्रधानमन्त्रीहरुबाट सम्बोधन हुनेछ ।
सम्बोधनपछि कार्यसूचीहरु पारित हुनेछन् भने आयोजक देशका प्रधानमन्त्री शिनावात्राले पत्रकार सम्मेलन गर्नुहुने कार्यक्रम छ ।
थाइल्याण्डको पहिलो औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री ओली बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुनुभएको हो ।
आजै प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता हुने कार्यक्रम तय भएको छ । बिमस्टेक सम्मेलनका क्रममा दुई देशका प्रधानमन्त्रीबीच आज दिउँसो ४ बजे साइडलाइन वार्ता हुने तय भएको हो ।
प्रधानमन्त्री ओली गएको मङ्गलवार नै थाइल्यान्ड जानुभएको हो भने भारतका प्रधानमन्त्री मोदी आज थाइल्यान्ड पुग्दै हुनुहुन्छ । मोदी उतैबाट श्रीलङ्का जाने कार्यक्रम रहेको छ । मोदी श्रीलङ्का जानुअघि प्रधानमन्त्री ओलीसँग भेटघाटको समय तय भएको हो ।
यसअघि प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिन न्यूयोर्क पुगेका बेला भेटवार्ता भएको थियो ।