अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

वर्षाै पुरानो ‘बाह्रबिसे’ मेलाको तयारी पूरा

 
वालिङ, २३ चैत ।
स्याङ्जाको वालिङ नगरपालिकाको परम्परागत बाह्रबिसे (चैतेदसैँ) मेलाको तयारी पूरा भएको छ । वालिङ ९ र १३ को सिमानास्थित आँधीखोला किनारमा लाग्ने चैते दसैँ मेलाको तयारी पूरा भएको बाह्रबिसे बजार संरक्षण समितिका अध्यक्ष अर्जुन गौतमले जानकारी दिनुभयो । रामनवमीको दिन आइतबार मेला लाग्ने उहाँको भनाइ छ ।
वर्षाैदेखि चल्दै आएको मेलालाई स्थानीय उत्पादनको प्रदर्शन गर्ने थलोको रूपमा हेरिन्छ । कुनै समय प्रयाप्त बजार नभएको समयमा वर्ष भरीका लागि आवश्यक सामग्री यही मेलाबाट लिने गरेको बताउनुहुन्छ, वालिङ नगरपालिका–१३ का रुक्मागत पाठक । उहाँले भन्नुभयो, “अहिले जस्तो जताततै बजार थिएन हामी बाह्रबिसे बजारबाट वर्ष भरीका लागि सामग्री किन्ने गर्दथ्यौं ।”
मेलाको तयारी पूरा भएको आयोजकको भनाइ छ । मेलाको पुरानो प्रचलनलाई नयाँ स्वरूप दिँदै सञ्चालन गर्न लागिएको अध्यक्ष गौतमको भनाइ छ । उहाँले भन्नुभयो, “बालउद्यान जस्ता पैसा बाहिर जाने सामग्री मेलामा राखिएको छैन, पहिले कसरी बजार सञ्चालन हुन्थ्यो त्यही तरिका अपनाएका छौं ।” स्थानीय उत्पादनका लागि स्टल निःशुल्क उपलव्ध गराइएको उहाँको भनाइ छ । आँधीखोला किनारामा ३० वटा स्टल निर्माण गरिएको छ ।
कोभिड १९ को महामारी अगाडिसम्म तीन दिन चल्ने मेला पछिल्लो समय एक दिन चल्ने गरेको छ । मेलाले धार्मीक आस्था मात्र नभई सिमित बजार भएको प्राचीन समयदेखि स्थानीय उत्पादन, परम्परा र आर्थिक गतिविधिलाई पनि प्रवर्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको स्थानीयको भनाइ छ । मेलामा माटोबाट निर्मित भाँडाकुँडा, परम्परागत हस्तकलाका सामग्री, उखु र गुड जस्ता स्थानीय उत्पादनहरूको बिक्री वितरण र प्रदर्शन गरिन्छ भने मेलामा मौलिकता झल्काउने गीत सङ्गीत पनि प्रस्तुत गरिने अध्यक्ष गौतमको भनाइ छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...