समाचार
गह्रौंसुर धार्मिक एवम् पर्यटकीय केन्द्रमा भक्तजनहरुको आवागमन बढ्दै
वालिङ, २४ चैत ।
प्रसिद्ध गह्रौंसुर धार्मिक एवम् पर्यटकीय केन्द्रमा भक्तजनहरुको आवागमन बढ्दै आएको छ । जिल्लाकै प्रसिद्ध गह्रौंसुर धार्मिक एवम् पर्यटकीय केन्द्र स्याङ्जाको वालिङ नगरपालिका ८ स्थित छिमेकी पालिका गल्याङ नगरपालिकाको सिमासँग जोडिएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत वालिङ बजारदेखि १० किलोमिटरको दुरीमा गह्रौंसुर रहेको छ । सवारी साधनमा जीप कारका साथै ठूलो बस पनि जान सक्ने सडकको सुविधा भएपछि धेरै टाढाबाट पनि दर्शनार्थी तथा पर्यटकहरु आउने गरेका छन् ।
बडा दशैं र चैते दशैंको नवदुर्गाका समयमा विशेष पूजा आजासहित भीड लाग्ने परापूर्वकालदेखिकै रीति हो । यस पटकको चैते दशैंको नवदुर्गामा विगतका वर्षभन्दा अझ बढि दर्शनार्थी एवम् भक्तजनहरुको उपस्थिति रहेको छ । पछिल्लो समयमा गरिएको नयाँ संरचनासहितको विकास र यातायातको सुविधाले पनि भक्तजनहरुलाई निकै सहज भएको हो । यसकासाथै गह्रौंसुरमा दर्शनार्थी एवम् भक्तजनहरुको उपस्थिति बाक्लिदै आएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
बडादशैं र चैते दशैमा पहिला पहिलाको तुलनामा गह्रौंसुर कालिका मन्दिरमा दर्शनार्थी एवम् भक्तजनहरु आउने क्रम बढेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सुरजप्रताप खाँणले जानकारी गराउनुभयो । नवदुर्गा बाहेकका दिनहरुमा पनि दिनानुदिन दर्शनार्थीहरु आउने गरेका अध्यक्ष खाँणको भनाई छ । उहाँले भन्नुभयो, “खासगरी यातायातको सुगमतासँगै मन्दिर तथा मन्दिर परिसरको नयाँ व्यवस्थापनले भक्तजनहरुलाई आकर्षित गरेको छ । गह्रौंसुरको धार्मिक एवम् ऐतिहासिक महत्वका बारेमा प्रचार प्रसारले गर्दा पनि विगतका दिनमा भन्दा आवागमन निकै बढ्दै आएको छ ।”
परापूर्वकाल देखि दशैंको नवदुर्गामा बली पूजा तथा दर्शन गर्ने चलन हो । यसकासाथै दशैंका बेला बाहेक पनि तीथि मिलाएर पूजा एवम् दर्शन गर्न सकिन्छ । नयाँ व्यवस्थापनसँगै स्वयम् सेवकहरुद्वारा भक्तजन तथा दर्शनार्थीहरुका लागि लाइनमा राख्ने र पालैपालो दर्शन गर्ने गराउने व्यवस्था गरिएको छ । पछिल्लो एकवर्ष यता शनिबार तथा विदाका दिनहरुमा दर्शनार्थीहरु आउने क्रम बढेको छ भने अरु दिन पनि आफ्नो अनुकुल हुनेहरु आउने गरेका छन्् । यहाँको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वसँगै नयाँ व्यवस्थापन एवम् मनोरम वातावरण र मनमोहक दृष्यावलोकन यहाँको मुख्य आकर्षण हो ।
पछिल्लो समय विभिन्न संघ संस्थाहरुले वैठक तथा साधारणसभाहरु गर्न तथा वनभोजका लागि पनि यहाँ आउने गर्दछन् ।
भाकल अनुसार आ—आफ्नो मनोकांक्षां पूरा हुने गरेकाले यहाँ आउनेहरु सबै खुसी र सन्तुष्ट भएर जाने गरेको पाइन्छ ।