समाचार
पिंक सिटिको अवधारणमा अगाडि बढेको वालिङ पछिल्लो समय सुटिङ स्र्पोट बन्दै
रेडियो आँधीखोला
वालिङ, २८ चैत ।
पिंक सिटिको अवधारणमा अगाडि बढेको वालिङ पछिल्लो समय सुटिङ स्र्पोट बनेको छ । स्याङ्जाका विभिन्न होमिस्टे तथा यहाँका धार्मिक ऐतिहासिक स्थलहरुमा यसअगाडि पनि विभिन्न गितका सुटिङहरु गरिन्थ्यो तर वालिङ बजार समेत सुटिङ स्थल बनेको छ ।
चर्चित गायक एवम् मोडल राजेश भण्डारीको नयाँ लोकदोहारीगीत ‘अटोवाला दाई’ को छायाङ्कन वालिङ मोडमा गरिएको होे । आफ्नै गृह जिल्ला स्याङ्जाका विभिन्न स्थानमा छायाङ्कन गरिएको लोकदोहारीगीत अटोवाला दाईको छायाङ्कन अन्तिम चरणमा पुगेको गायक भण्डारीले बताउनुभयो । बुधबार प्रशिद्ध धार्मिक एवम् पर्यटकीय स्थल गह्रौंसुर र वालिङ बजारको चोकमा अटोवाला दाईको छायाङ्कन गरिएको थियो । नयाँवर्षको शुभारम्भसँगै यही आउने वैशाखको पहिलो साता गीत सार्वजनिक गरिने गायक भण्डारीले जानकारी गराउनुभएको छ ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाका सचिवसमेत रहेका भण्डारीका अनुसार अटोवाला दाईमा मायाँ प्रेमकासाथै समसामयिक विषयलाई समेटिएको छ । यो म्युजिक भिडियोमा बाल कलाकार रोहानी श्रेष्ठ र आयुशा खत्रीको नृत्यसमेत देख्न पाइने छ । ‘कलेजीको छेउ’ को सफलतापछि भण्डारीको ‘अटोवाला दाई’ अर्को नयाँ कोशेली हो । त्यसो त गायक भण्डारीका पञ्चेबाजा, सालैजो, तीजका कोशेलीलगायत आधा दर्जन म्युजिक भिडियोहरु यस अघि सार्वजनिक भैसकेका छन् ।
अटोवाला दाईमा मुख्य अभिनय स्वयम् राजेश भण्डारी, भूमिका पङ्गेनी, जेरी भण्डारी र सलिना थापाको रहेको छ । यो म्युजिक भिडियोमा गायक भण्डारीको आफ्नै लय तथा शव्द सङ्कलन रहेको छ भने स्वरमा साथ दिएका छन् हेमराज र शान्तारानी परियारले । म्युजिक भिडियोको कोरियोग्राफी जेरी भण्डारीको र रेकर्डिङ ‘वानडे एचडी’ स्टुडियोमा गरिएको हो ।