समाचार
स्याङ्जाको गल्याङ नगरपालिकामा निशुल्क आँखा शिविर शुरु
वालिङ, ६ वैशाख ।
स्याङ्जाको गल्याङ नगरपालिकामा निशुल्क आँखा शिविर पिडिखोलामा सुरु भएको छ । नगरपालिकाका चार स्थानमा गरिने निशुल्क आँखा स्वास्थ्य शिबिर अन्तर्गत गल्याङ नगरपालिका वडा नम्बर छ को वडा कार्यालयमा शिबिर सञ्चालन भएको हो । शिबिरको पहिलो दिन शनिबार वडा नम्बर ५ र ६ का सेवाग्राहीलाई लक्षित गरि गरिएको शिबिरमा सेवाग्राहीको उत्साहजनक सहभागिता देखिएको छ ।
शिबिरमा एक सय ८४ जनाले आँखा जाँच गराएको गल्याङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख विष्णु ओलीले जानकारी दिनुभयो । निःशूल्क आँखा परिक्षण शिबिरमा उपचार, औषधी वितरण र मोतियाविन्दूको निःशुल्क शल्यक्रिया सहितको सेवा प्रवाह भैरहेको छ । गल्याङ नगरपालिकाको आयोजनामा विभिन्न वडाहरुलाई केन्द्र बनाएर चार ठाउँमा निशुल्क आँखा स्वास्थ्य शिबिर सञ्चालन गरिएको हो ।
९ गते मंगलबारसम्म सञ्चालन हुने शिबिरमा हिमालयन आँखा अस्पतालका नेत्र रोग विशेषज्ञ इश्वर मानन्धर र दिपेश मल्ला ठकुरी सहितको उपस्थितीमा संचालन भैरहेको छ । पिडिखोलामा गरिएको शिबिर उद्घाटन कार्यक्रममा गल्याङ नगरपालिका उपप्रमुख हेमा न्यौपाने तिमिल्सीनाले संसार देख्न र बुझ्नका लागि आँखाको महत्व धेरै हुने भएकाले आँखा स्वास्थ्य शिबिरमो आयोजना गरिएको बताउनुभयो ।
उहाँले गल्याङ नगरपालिका नगरवासीको स्वास्थ्यप्रति संबेदनशील रहेको भन्दै स्वास्थ्य क्षेत्रको विकासका लागि सबै खालको काम गर्न नगरपालिका तयार रहेको बताउनुभयो । उपप्रमुख न्यौपानेले शरिर स्वस्थ भएमा मात्रै सबै कामहरु गर्न सकिने भन्दै स्वास्थ्य सेवामा नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । वडा नम्बर छ का वडा अध्यक्ष दिप गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन विसर्जना थापाले गर्नुभएको थियो ।
शिबिर आइतबार वडा नम्बर ८, ९ र १० का सेवाग्राहीका लागि वडा नम्बर ९ को अमिलाथुममा रहेको जानकी माध्यमिक विद्यालयमा राखिएको छ । यसैगरी बैशाख ८ गते सोमबार वडा नम्बर सातका सेवाग्राहीका लागि पेलाकोट स्वास्थ्यचौकीमा राखिएको छ ।
यस्तै बैशाख नौ गते मंगलबार वडा नम्बर १, २, ३, ४ र ११ का सेवाग्राहीलाई लक्षित गर्दै गल्याङ बल्पुकमा रहेको गल्याङ नगर अस्पतालमा राखिएको छ । शिबिरको अन्तिम दिन बैशाख नौ गते गल्याङ नगर अस्पतालमा मोतियाविन्दु भएका सबै वडाका विरामीहरुलाई निशुल्क सल्यक्रिया गरिने गल्याङ नगरपालिकाले जनाएको छ ।